काठमाडौं। दक्षिण एसियालका केही टोली फिफा वरीयता सुधार र अन्तर्राष्ट्रिय खेल अनुभवमार्फत लिँदै गर्दा नेपाल स्थिरता र निर्णयहीनताको दलदलमा अल्झिने छ।
यसको पछिल्लो उदाहरण हो, नेपालबिना श्रीलंकाले आयोजना गर्न लागेको ‘साफ सुपर कप’। कोलम्बोमा सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुने यो आमन्त्रणीय प्रतियोगिता श्रीलंकाली फुटबल महासंघको रणनीतिक कदमको एउटा हिस्सा हो।
श्रीलंकाले सन् २०२५ को अन्त्यसम्ममा कम्तीमा सात अन्तर्राष्ट्रिय खेल खेल्ने र फिफा वरीयतामा १९४औं स्थानमा पुग्याउने लक्ष्य तय गरेको छ।
सन् २०२३ मा २०७औं स्थानमा रहेको श्रीलंका अहिले १९६औंमा उक्लिएको छ। अहिलेसम्म माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानलाई निमन्त्रणा पठाइसकेको श्रीलंकाले प्रतियोगिताको पूर्ण रूपरेखा तय गरिसकेको छ। तर, एक समय क्षेत्रीय फुटबलको निर्णायक शक्ति मानिने नेपाल यो प्रतियोगिताबाट बाहिर रहने भएको छ।
नेपालले केही हप्ता अघि मात्र बंगलादेशसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो। तर, त्यो योजना अधुरै हुने सम्भावना बढेको छ। बंगलादेश साफ बाहिरको एक टोलीसँग मैत्रीपूर्ण खेल खेल्न चाहन्छ।
योसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले वैकल्पिक रूपमा भुटानसँग संवाद गरिरहेको थियो। अब त्यो टोली स्वयं श्रीलंकाको आमन्त्रणमा ढल्किने देखिन्छ। यता, श्रीलंकाको योजना नेतृत्व गरिरहेका छन् अब्दुल्ला अल्मुतारीले।
उनी त्यही प्रशिक्षक हुन्, जसले २०२१ मा नेपाललाई पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए। एक समय नेपाली फुटबलको केन्द्रमा रहेका अल्मुतारी अहिले छिमेकी मुलुकका लागि ‘फुटबल इन्जिनियर’ बन्दैछन्।
साफ सुपर कप प्रतिस्पर्धा मात्रै नभएर फिफा वरीयतामा अंक संकलन गर्ने थलो पनि हुनेछ। श्रीलंकाले यसलाई खेलको सन्देश र राष्ट्रको साख जोड्ने अवसरको रूपमा हेरेको छ।
यसको विपरीत नेपाल अन्तर्राष्ट्रिय खेलविहीन हुने जोखिममा छ। यसले फिटनेसमा मात्रै असर पार्दैन, बरु भविष्यका छनोटहरूमा पनि नेपाली टोली कमजोर सावित हुन सक्छ।
यसो भनिरहँदा दक्षिण एसियाको फुटबल भूराजनीतिमा नेपाल अघिल्लो पंक्तिबाट पछाडि सर्ने खतरा अझ गहिरिँदै गएको छ। तयारी, योजना र सहभागिताको गतिमा दक्षिण एसियाका अन्य राष्ट्रहरू दौडिरहेका बेला नेपाल भने यो क्षेत्रको नक्साबाट हराउँदै गुमनाम रहने लगभग पक्का भएको छ।