काठमाडौं। साफ महिला यु–२० च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशको कदम अहिले अडिग र अपराजित छ।
मंगलबार बसुन्धरा किङ्स एरेनामा सम्पन्न तेस्रो खेलमा भुटानविरुद्ध ४–१ को जित दर्ता गर्दै बंगलादेशले उपाधितर्फको बाटो झनै सिधा बनाएको छ।
घरेलु समर्थनमा उत्रिएको बंगलादेशले अहिलेसम्म कुनै हार खेप्न परेको छैन। पहिलो खेलमा श्रीलंकामाथि ९–१ को गोल वर्षा गरेको बंगलादेशले दोस्रो खेलमा नेपालसँग जित निकाल्न केही कठिनाइ बेहोर्न पर्यो।
तर, रोमाञ्चक खेलमा बंगलादेशले इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै ३–२ को जित हासिल गर्यो। यही टोलीले भुटानलाई समेत निरुत्तर बनायो।
३ खेलबाट पूरै ९ अंक जोडिसकेको बंगलादेश अंकतालिकाको शीर्ष स्थानमा एक्लो रूपमा उभिएको छ। उसका लागि यो जित मात्र हो, बरु घरेलु मैदानमा पूर्ण अंकसहित उपाधि जित्ने बाटो पनि हो।
उता भुटानका लागि यो हारले प्रतिस्पर्धा झनै कठिन बनाएको छ। ३ खेल खेलिसकेको भुटानको खातामा अहिलेसम्म ३ अंक मात्र छ। उपाधि होडमा फर्किन अब बाँकी खेल जितेर मात्रै पुग्दैन, दोस्रो स्थानमा रहेको नेपाल (६) अंक र बंगलादेशले पनि हार बेहोर्न पर्छ।