काठमाडौं। रियल मड्रिडका प्रशिक्षक जाबी आलोन्सोले मेक्सिकन क्लब पाचुकाविरुद्ध आइतबार क्लब विश्वकपमा भएको ३–१ को जितपछि आफ्ना डिफेन्डर एन्टोनियो रुडिगरमाथि जातीय विभेद भएको गुनासो गरेका छन्।
खेल समाप्त भएपछि पाचुकाका कप्तान गुस्ताभो काब्रालसँग रुडिगर भनाभनमा उत्रिएका थिए। त्यसपछि रुडिगर आक्रोशित देखिए। ब्राजिली रेफ्री रामोन अबात्ती अबेलसँग उनले कुरा गरेका थिए।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक आलोन्सोले भने, ‘टोनीले हामीलाई केही बताएका छन्, हामी उनलाई समर्थन गर्छौं र के हुन्छ हेर्नेछौं।’
उनले थपे,‘मलाई लाग्छ फिफाको प्रोटोकल सक्रिय भइसकेको छ। यदि त्यस्तो घटना भएको हो भने त्यसमा आवश्यक कारबाही हुनुपर्छ। हामी टोनीलाई विश्वास गर्छौं, यो पूर्ण रूपमा अस्वीकार्य विषय हो। फुटबलमा यस्तो व्यवहारको लागि कुनै स्थान छैन।’
पाचुकाका प्रशिक्षक हाइम लोजानोलाई पनि उक्त घटनाबारे सोधिएको थियो। तर, उनले आफूलाई त्यसबारे जानकारी नभएको बताए।
फिफाले भने घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।