धनकुटा। मौसम सुब्बाको ह्याट्रिकसँगै झापाको बिर्तामोड युनाइटेड धनकुटाको राजारानीमा जारी १२औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनसरीको गोल्डेन स्टार युथ क्लबलाई ४-१ ले पराजित गरेको हो। बिर्तामोडले उपाधि रक्षाका लागि जेठ ४ गते मोरङको एलएक्स सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्ने छ।
खेलको आठौं मिनेटमा मौसमको गोलमार्फत बिर्तामोडले सुरुवआती अग्रता लिएको थियो। ३६औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक उनले पूरा गरे। अर्को गोल भने आर्यन राईले अतिरिक्त समयको दोस्रो मिनेटमा गरेका हुन्।
गोल्डेनका सविन घिमिरेले ८९औं मिनेटमा सान्त्वना गोल फर्काए। ह्याट्रिककर्ता सुब्बा म्यान अफ द म्याच घोषित भए।