काठमाडौं। बार्सिलोना महिला टोलीले आइतबार रियल बेटिसलाई ९–० ले पराजित गर्दै लगातार छैटौं पटक स्पेनिस महिला लिगको उपाधि जितेको छ।
क्लाउडिया पिनाले ह्याट्रिक गरिन् भने एवा पाजोरले दुई गोल थपिन्। यो जितसँगै बार्सिलोनाले एक खेलअगाबै आफ्नो १०औं लिग उपाधि सुरक्षित गर्यो। पाजोर २३ गोलसहित लिगको शीर्ष स्कोरर बनेकी छन्।
बार्सिलोनाले यो सिजन २७ खेलमा जित हात पार्दा दुई खेलमा मात्र हार बेहोरेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिड बार्सिलोनाभन्दा ६ अंकले पछि परेको छ।
बार्सिलोनाको यो सिजनको दोस्रो उपाधि हो। जनवरीमा स्पेनिस सुपर कप जितेको थियो।
अब बार्सिलोनाले मे २४ मा महिला च्याम्पियन्स लिगको फाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। जुन ७ मा कोपा डे ला रेइनाको फाइनलमा एट्लेटिको मड्रिडसँग खेल्नेछ। यसै हारसँगै रियल बेटिस लिगबाट रेलिगेट भएको छ।