काठमाडौं। १८ वर्षपछि पहिलोपटक वेस्ट ह्याम युनाइटेडले ओल्ड ट्राफोर्डमा प्रिमियर लिगको खेल जितेको छ।
आइतबार युरोपा लिग फाइनलिस्ट म्यानचेस्टर युनाइटेडविरुद्ध २–० को जित निकाल्दै वेस्ट ह्यामले ऐतिहासिक सफलता हासिल गरेको हो। थमस साउसेक र जारोड बोवेनले दुवै हाफमा गोल गरे।
यस सिजनको लिग तालिकामा संघर्षरत दुई टिमबीचको प्रतिस्पर्धामा वेस्ट ह्याम ४० अंकसहित १५औं स्थानमा उक्लिएको छ। युनाइटेड ३९ अंकसहित १६औं स्थानमा झरेको छ। दुवै टिमले अब दुई खेल मात्र खेल्न बाँकी छ।
२६औं मिनेटमा वेस्ट ह्यामका लागि साउसेकले पहिलो गोल गरे। मोहम्मद कुडुसले बाँयातर्फबाट सानदार पासिङ खेल प्रदर्शन गर्दै बल गोलपोस्ट अगाडि पठाए। त्यसलाई साउसेकले सजिलै जाली चुमाए।
५७औं मिनेटमा जारोड बोवेनले अग्रता दोब्बर पारे। कुडुसको प्रहार एरन वान–बिसाकासम्म पुगेपछि उनले बल बोवेनलाई पास गरे। बोवेनले सजिलो गोल गर्न भ्याए।
यता, युनाइटेडका प्रशिक्षक रुबेन आमोरिमले मे २१ मा टोटनह्यामविरुद्धको युरोपा लिग फाइनललाई प्राथमिकता दिने बताएका छन्। त्यो खेलको विजेता च्याम्पियन्स लिगका लागि छनोट हुनेछ। तर, आइतबारको निराशाजनक हारले उक्त फाइनलअघि युनाइटेडको तयारीमा ठूलो धक्का पुर्याएको छ।