काठमाडौं। नेपालले श्रीलंकालाई हराएसँगै आयोजक भारत पनि स्वत: साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपालले ५–० को जित निकालेको हो। नेपालको जितमा सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे। योसँगै नेपाल र भारत अन्तिम चारमा प्रवेश गर्न सफल भएका हुन्।
जितसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अंक बटुल्यो। समान खेलबाट समान अंक रहे पनि भारत अंक तालिकामा शीर्ष स्थानमा छ।
नेपालको यो जितसँगै भारत पनि एक खेलअगाबै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को फराकिलो हार बेहोरेको थियो। योसँगै श्रीलंका जित, अंक र गोलविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
अब मंगलबार हुने समूह चरणको अन्तिम खेलले शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ। अर्को समूहबाट बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशले आइतबार नै सम्पन्न खेलमा भुटानलाई ३–० ले पाखा लगाएको थियो।