काठमाडौं। क्रिस्टल प्यालेसले एफए कप जित्ने अर्को मौका पाएको छ। तर, यसपटक फाइनलमा म्यानचेस्टर युनाइटेडसँग भेट हुने छैन।
शनिबार वेम्बली स्टेडियममा एस्टन भिल्लालाई ३–० ले हराउँदै प्यालेसले मे १७ मा हुने उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो।
दक्षिण लन्डन क्लबको तेस्रो पटक एफए कप फाइनल प्रवेश हो। यसअघि सन् १९९० र २०१६ मा फाइनल पुगेको प्यालेस दुवैपटक युनाइटेडसँग पराजित भएको थियो।
खेलको ३१औं मिनेटमा एबेरेची एजले इस्माइला साको राम्रो पासमा शक्तिशाली प्रहार गर्दै प्यालेसका लागि पहिलो गोल गरे। साले दोस्रो हाफमा दुई गोल थप्दै भिल्लामाथि प्यालेसको प्रभावशाली जित सुनिश्चित गरे। उनले ५८औं मिनेटमा पहिलो र इन्जुरी समयमा दोस्रो गोल गरे।
सात पटक एफए कप जितिसकेको भिल्ला पछिल्लो साता पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। भिल्ला प्रिमियर लिगमा शीर्ष पाँचमा स्थान बनाउन प्रयासरत छ। हाल भिल्ला लिग तालिकामा सातौं स्थानमा छ।
प्यालेसका लागि जितको अन्तर अझै ठूलो हुन सक्थ्यो। तर, जाँ–फिलिप माटेटाले ५३औं मिनेटमा पेनाल्टी मिस गरे। कुनै ठूला प्रतियोगिताको उपाधि नजितेको प्यालेस अब फाइनलमा म्यानचेस्टर सिटी वा नटिङ्घम फरेस्टसँग भिड्नेछ। यी दुई टोली आइतबार वेम्बलीमै आमनेसामने हुँदैछन्।