काठमाडौं। शेराल्डो बेकरले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा बार्सिलोनाले आइतबार रियल सोसिडाडसँग १–० को हार बेहोरेको छ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाले एक महिनापछि पहिलो हारको स्वाद चाखेको हो। घरेलु सिजनमा भने यो दोस्रो हार हो। योसँगै सात खेलसम्मको अपराजित यात्रा समाप्त भएको छ। बार्सिलोना अन्तिमपल्ट सेप्टेम्बर २८ मा ओसासुनाविरुद्ध भएको खेलमा ४–२ ले पराजित भएको थियो। त्यसपछि गेटाफे, भिल्लारियल, गिरोना, रियल भल्लाडोलिड, रायो भालेकानो, भ्यालेन्सिया, एट्लेटिको बिलबाओ र रियल मड्रिडलाई पराजित गरेको थियो।
बार्सिलोनाले युरोपको शीर्ष लिगमा ४० गोल गर्नुका साथै च्याम्पियन लिगमा सर्वाधिक १५ गोल गरेको छ। तर,सोसिडाडसँगको भेटमा भने फ्लिकको टोलीले कुनै पनि सट टार्गेटमा राख्न सकेन।
बार्सिलोना ३३ अंकका साथ शीर्ष स्थानमा छ। यो भनेको दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ६ अंकले अगाडि हो। एट्लेटिको मड्रिड २६ अंकका साथ तेस्रो स्थानमा छ। रियल सोसिडाड १८ अंकका साथ आठौं स्थानमा छ।
बुधबार रेड स्टार बेलग्रेडमा दाहिने घुँडाको चोटबाट पूर्णरुपमा निको हुन नसकेका युवा खेलाडी लमिन यमलबिना मैदान उत्रिएको बार्सिलोनाले १३औं मिनेटमा गोल अग्रता लिएको थियो। रोबर्ट लेवान्डोस्कीले रिबाउन्डमा बललाई जाली चुमाएका थिए। तर, भिएआरले लेवान्डोस्की अफसाइड पोजिसनमा रहेको भन्दै गोल दिन अस्वीकार गरेको थियो।
त्यसपछि सोसिडाडले खेलमा नियन्त्रण लियो। मिकेल ओयार्जबालको फ्रि किकलाई बार्सिलोनाका गोलकिपर इनाकी पेनाले राम्रो सेभ गरेका थिए। तर, बेकरले अफसाइड ट्र्याप गर्दै गोल गरे।
घरेलु टोलीले बार्सिलोनाको अस्तव्यस्त डिफेन्सलाई उछिन्दै एकपछि अर्को अवसर बनाएको थियो। तर, सदुपयोग भने गर्न सकेन। बेकरले दोस्रो हाफको सुरुमै तीन वटा सुनौलो अवसर खेर फालेका थिए। बार्साका गोलकिपर पेनाले ओयार्जाबल, टेक कुबो र ब्राइस मेन्डेजको प्रयासलाई विफल पारेका थिए।