काठमाडौं। ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आइतबार साँझ नेपाली यु–२० महिला टोलीले लगभग घरेलु टोलीसँग बंगलादेशसँग एक अंक खोसिसकेको थियो।
तर, खेलको अन्तिम पाँच सेकेन्डमै नेपालको डिफेन्स लाइन भत्कियो र गोल खान पुग्यो। योसँगै ३–२ ले पराजित भएको नेपालको उपाधि यात्रामा गम्भीर धक्का लागेको छ।
नेपाल र बंगलादेशबीचको खेल तीन अंकको लडाइँ मात्रै थिएन, त्यो दक्षिण एसियाली महिला फुटबलको बढ्दो प्रतिद्वन्द्विता र आगामी पुस्ताको आत्मविश्वास निर्माणको केन्द्रबिन्दु बनिरहेको थियो।
भुटानविरुद्ध ६–१ को सानदार जितपछि आत्मबलमा उचालिएको नेपालले बंगलादेशविरुद्ध पनि त्यस्तै धैर्य र साहस देखायो। तर, खेलको अन्तिम क्षणमा एक क्षणिक चुकले सबथोक उल्टियो।
बंगलादेशले खेलको सुरुआतदेखि नै उच्च प्रेसिङ खेल खेलेको थियो। घरेलु समर्थकको हुंकारमा उर्जाशील देखिएको टोलीले सुरुआती अग्रता पनि बनायो। तर, नेपाली टोली पनि सहजै झुकेन।
दुई पटक खेलमा फर्किएर स्कोरलाई बराबरीमा ल्यायो। तर, खेल सकिन पाँच सेकेन्ड बाँकी रहँदा आएको निर्णायक गोलले नेपाललाई स्तब्ध बनायो।
यस हारसँगै नेपालका लागि उपाधि यात्रा निकै जटिल भएको छ। यद्यपि, प्रतियोगिता सकिएको छैन। नेपाललाई अब श्रीलंका र माल्दिभ्सविरुद्धका २/२ खेल जितेर पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मौका छ।
अर्कोतर्फ नेपालले भुटान र बंगलादेशसँग नि समान एक खेल खेल्न बाँकी छ। तर, त्यो पर्याप्त हुनेछ कि हुने छैन, त्यो बंगलादेशका आगामी नतिजामा निर्भर हुनेछ।
खेलको यो परिणामले एउटा कुरा स्पष्ट पारेको छ। अब नेपालले उपाधि जित्न हरेक खेल जितेर मात्र पुग्दैन, सशक्त प्रदर्शन गर्नुपर्छ। प्रत्येक खेल अब गोलअन्तरका हिसाबले पनि निर्णायक बन्दै जानेछ।
नेपाल र बंगलादेश फेरि भेट्ने छन्। त्यो भेट फाइनलमा सरह हुनेछ।