काठमाडौं। ३९ वर्षको उमेरमा लुका मोड्रिचले युरोपेली फुटबलको सात पटकको च्याम्पियन एसी मिलानलाई पुनः गौरवको बाटोमा डोर्याउने जिम्मेवारी लिएका छन्।
पछिल्लो केही वर्षमा निकै निराशाजनक प्रदर्शन गरेको मिलानका लागि उनी ठूलो आशा बनेको छ। सन् २०१८ का बालोन डी’ओर विजेता मोड्रिचले सोमबार मिलानसँग एक वर्षको सम्झौता गरेका हुन्।
उनीसँग अर्को एक वर्ष क्लबमा बस्ने विकल्प पनि छ। उनले यसअघि १३ वर्षसम्म रियल मड्रिडमा अत्यन्तै सफल यात्रा बिताएका थिए।
मोड्रिच सानैदेखि एसी मिलानको समर्थक हुन्। त्यो पनि कारणवश। उनका आदर्श र ९० को दशकमा क्रोएसियन महान् खेलाडी ज्भोनिमिर बोबनले यही क्लबबाट खेलेका थिए।
मोड्रिचले मे महिनामा रियलबाट बिदाइको घोषणा गरेका थिए। उनले रियलका लागि २८ उपाधि जिते। जसमा ६ युरोपियन कप, ६ क्लब विश्वकप, ५ युरोपियन सुपर कप, ४ ला लिगा, २ कोपा डेल रे र ५ स्पेनिस सुपर कप छन्।
मिलान गत सिजन सिरी एमा आठौं स्थानमा सीमित रहँदा कुनै पनि युरोपियन प्रतियोगितामा स्थान बनाउन सकेन। त्यसपछि क्लबले संकटको सामना गरिरहेको बेला मासिमिलियानो अलेग्रीलाई पुनः प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो।
उनले सन् २०११ मा मिलानलाई सिरी ए उपाधि दिलाएका थिए। त्यसपछि युभेन्ट्सलाई पाँच सिजन लगातार च्याम्पियन बनाए। अलेग्रीले मोड्रिचको अवस्थाबारे जान्न कार्लो एन्सेलोटी (रियल र मिलानका पूर्व प्रशिक्षक)लाई सल्लाह मागेका थिए।
त्यसपछि मिलानका नयाँ स्पोर्टिङ डाइरेक्टर इग्ली टारे क्रोएसियाको ट्रेनिङ क्याम्पमै पुगेर मोड्रिचसँग सम्झौता पक्का गरेका थिए। सम्झौता क्लब विश्वकपअघि नै पक्का भए पनि मोड्रिच संयुक्त राज्य अमेरिकामा आयोजित क्लब विश्वकप खेल्दा रियलबाट उनको अन्तिम खेल सकिएपछि मात्र मिलानमा आबद्ध हुन पाए।
उनको अन्तिम खेल पेरिस सेन्ट-जर्मेन (पीएसजी) विरुद्ध खेलेका थिए। सेमिफाइनलको उक्त खेलमा रियल ४–० ले पराजित भएको थियो। अब लुका मोड्रिच मिलानका लागि मैदानमा उत्रिने छ।
अनुभवी मिडफिल्डरको आगमनले संकटग्रस्त मिलानमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।