काठमाडौं। मेटलाइफ स्टेडियमको चर्को गर्मीमा सबैको ध्यान पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्टार टोलीमा थियो।
तर, जब खेल सकियो, सबैको मुखमा एउटै नाम रह्यो, कोल पाल्मर।
२३ वर्षीय इङ्लिस खेलाडीले दुई उत्कृष्ट गोल, एक सटीक असिस्ट र अद्वितीय बल नियन्त्रणका साथ निर्णायक प्रदर्शन गरे।
‘यस्ता खेलहरूमा नै हामीले कोल पाल्मर चम्कने अपेक्षा गर्छौं,’ चेल्सीका प्रशिक्षक एनजो मारेस्काले भने, ‘आज फेरि उनले प्रमाणित गरिदिए कि उनी कस्तो खालको खेलाडी हुन्।’
पहिलो गोल उनले शान्तिपूर्वक गरे। डिफेन्डरहरूबीच खाली स्थानमा पसेर जानलुइजी डोनारुम्मालाई छलेर जाली चुमाए।
त्यसको केही मिनेटमै लेभी कोलविलको लामो पासमा उनी दौडिए, भित्र पसेर भिटिन्हालाई एक सुन्दर ‘डमी’ दिए र उस्तै कोणमा दोस्रो गोल ठोके।
हाफटाइम अघि तेस्रो गोलमा पनि उनी निर्णायक बने। मिडफिल्डबाट पास काट्दै जोआओ पेड्रोलाई बल मिलाए। उनले डोनारुम्मालाई चिप गर्दै चेल्सीलाई ३–० को निर्णायक अग्रता दिलाए।
उत्कृष्ट प्रदर्शनका बाबजुद पाल्मर विनम्र थिए। उनले सहकर्मी र प्रशिक्षकलाई श्रेय दिए। ‘साँच्चिकै सबैले हामीलाई कमजोर मानेका थिए,’ पाल्मरले फिफालाई भने, ‘हामीले त्यसलाई थप प्रेरणा बनायौं। आज हामी योजनाअनुसार खेल्यौं। विशेषतः प्रशिक्षकको योजना एकदमै उत्कृष्ट थियो।’
गोलकिपर रोबर्ट सान्चेजले भने पाल्मर अहिले नै विश्वकै उत्कृष्ट खेलाडी मान्छन्। नभए पनि २–३ वर्षमा उनी पक्कै यो लेभलमा पुग्ने उनको भनाइ छ। उनी भन्छन्, ‘पाल्मरले गर्ने जादू नै बेग्लै छ। आज पनि दुई गोल गरे, लगभग ह्याट्रिक नै।’
फ्रेन्च राइट–ब्याक मालो गुस्टोका अनुसार उनी सधैं अलिक छुट्टै बस्ने र शान्त रहने खालका खेलाडी हुन्। तर जब बोल्नुपर्छ, उनी बोल्छन्। गुस्टोका भन्छन्, ‘हामी सबैसँग राम्रो सम्बन्ध छ। आज उनले हामी सबैको लागि धेरै गरे।’
पाल्मरलाई ‘माइकलोब अल्ट्रा सुपीरियर प्लेयर अफ द म्याच’ र ‘टूर्नामेन्ट’को उत्कृष्ट खेलाडीको सम्मान दिइयो। तर, सबैभन्दा ठूलो सन्देश उनले बोलेर होइन, खेलेर दिए।
‘सबै खेलाडीको भूमिका विशेष थियो। तर, पाल्मरले उदाहरणीय नेतृत्व गरे, लियम डेल्यापले भने, ‘उनी साँच्चिकै विश्वस्तरीय खेलाडी हुन्।’
म्यानचेस्टर सिटीबाट चेल्सी आएका पाल्मरले छोटो समयमा असाधारण उचाइ प्राप्त गरेका छन्। उनी अब यस्तो खेलाडी बनेका छन्, जो दबावका क्षणमा चम्कन्छन्।
यस पटक क्लब विश्वकपमा विश्वका सबैजसो उत्कृष्ट क्लबहरू थिए। तर, त्यो भीडमा पनि पाल्मर अर्कै स्तरमा देखिए। र, जब ट्रफी उनका हातमा पुग्यो, उनले केही नबोली आफ्नै खेलले सबैभन्दा ठूलो कुरा सुनाए।