काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गोल मेसिन सावित्रा भण्डारीलाई सुरुआती ११ मै उतार्ने भएका छन्।
फराकिलो गोलअन्तरसहित जित्नै पर्ने श्रीलंकाविरुद्धको खेलमा उनले मुख्य खेलाडीलाई मैदान उतार्ने भएका हुन्। व्यवसायिक लिग खेल्न फ्रान्स पुगेकी उनी आइतबार मात्रै नेपाल आइपुगेकी हुन्। उनीबिना नेपाली टोलीले भुटानसँग गोलरहित बराबरी खेलेको थियो। यद्यपि, माल्दिभ्सविरुद्धको खेलमा भने उनलाई आराम दिइएको थियो।
माल्दिभ्सविरुद्धको खेलमा नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बासहित ६ परिवर्तन गरिएको थियो। तर, जित्नै पर्ने खेल भएको कारण तामाङले श्रीलंकाविरुद्ध भने जोखिम मोलेको देखिँदैन।
माल्दिभ्समाथि १३-० को विशाल जित निकालेसँगै भुटान समूह ‘बी’को शीर्ष स्थानमा छ। पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अंक पुर्याएको छ। भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो। अन्तिम खेल खेल्न बाँकी रहेको नेपालको चार अंक छ।
नेपालले माल्दिभ्सविरुद्ध ११ गोल गरेको थियो। अब नेपाललाई समूहको शीर्ष स्थानमा उक्लिन कम्तिमा पाँच गोलअन्तरको जित आवश्यक छ। यो सम्भव भएमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ। नत्र अघिल्लो संस्करणका दुई फाइनलिस्ट (नेपाल र बंगलादेश) सेमिफाइनलमै भिड्ने छ।
बंगलादेशले भारतलाई ३-१ ले हराएको थियो। पहिलो खेलमा भने पाकिस्तानसँग १-१ को बराबरीमा रोकिएको थियो। भारतले भने पाकिस्तानसँग ५-२ को जित निकाल्दै समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको हो।
नेपालको सुरुआती ११
अन्जिला तुम्बाप्पो सुब्बा(कप्तान) , विमला बिक, रेनुका नगरकोटे, सरु लिम्बु, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी