काठमाडौं। सिरी ‘ए’ को उपाधि लडाइँ अन्तिम खेलसम्म पुगेको छ। र, सम्भवतः प्लेअफसम्म पनि। आइतबारको खेलमा नेपोलीले लिगको उपाधि जित्ने मौका गुमायो। एन्टोनियो कोन्टेको टिम र दोस्रो स्थानको इन्टर मिलान दुवै बराबरीमा रोकिए।
तालिकाको शीर्ष स्थानमा रहेको नेपोलीले पार्मासँग गोलरहित बराबरीमा खेल्दा इन्टरले च्याम्पियन्स लिग स्थानको दौडमा रहेको लाजियोसँग २–२ को नतिजा निकाल्यो। यससँगै नेपोली इन्टरभन्दा एक अंकले अगाडि छ।
अन्तिम चरणमा नेपोलीले काग्लियारीको सामना गर्नेछ भने गत सिजनको विजेता इन्टरले कोमोको मैदानमा खेल्नेछ। यदि अन्तिम खेलमा दुवै टोली बराबर अंकमा रहे भने लिग उपाधिको छिनोफानो प्लेअफमार्फत हुनेछ।
सिरी ‘ए’ मा उपाधि मात्र होइन, अन्य धेरै कुराहरू पनि अझै टुङ्गो लाग्न बाँकी छ। यही कारण आइतबारको दोस्रो अन्तिम चरणका १० मध्ये ९ खेल एकै समयमा सुरु गरिएका थिए।
दबाबमा इन्टर
दुवै प्रतिस्पर्धीमध्ये इन्टरको दबाब बढी थियो। इन्टरले हार बेहोरे नेपोलीले उपाधि जित्ने थियो। यदि पार्मामाथि जित हात पार्थ्यो भने पनि नेपोलीले नै उपाधि जित्ने पक्का थियो।
सान सिरोमा यान बिसेक इन्टरका लागि नायक र खलनायक दुवै बने। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर, अन्त्यतिर ह्यान्ड बल गरेको ठहर गर्दै दिइएको पेनाल्टीले लाजियोलाई बराबरी गरायो।
लाजियोका पेड्रोले ७२औं मिनेटमा बराबरी गोल गरे. डेन्जेल डम्फ्रिजले ७९औं मिनेटमा हेडरमार्फत इन्टरलाई फेरि अग्रता दिलाए। यदि त्यो नतिजा कायम रहन्थ्यो भने इन्टर शीर्ष स्थानमा पुग्थ्यो र उपाधि हातमा आउने थियो।
तर, अन्त्यतिर भिएआर चेकपछि बिसेकले ह्यान्ड बल गरेको पुष्टि भएको थियो। पेनाल्टीलाई पेड्रोले गोलमा परिणत गरे। इन्जुरी समयमा इन्टरका मार्को अर्नाउटोभिचको हेडरबाट गोल गरेको थियो। तर, त्यो अफसाइडको कारण रद्द भयो।
पेनाल्टीको भिएआर निर्णयको बेला इन्टरका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टे र नेपोलीका मुख्य प्रशिक्षक दुवैलाई मैदानबाट निकालिएको थियो। योसँगै अन्तिम खेल दुवै टोलीले प्रशिक्षकबिनै खेल्नेछन्।
पार्मामा पनि नेपोलीको खेलमा अन्त्यतिर नाटकीय मोड आयो। डेविड नेरेसलाई माथियास ल्योभिकले फाउल गरेको भन्दै नेपोलीलाई पेनाल्टी दिइएको थियो। तर, भिएआ जाँचपछि निर्णय उल्टाइयो।