काठमाडौं। इन्टर मियामीका कप्तान लिओनल मेसी अहिले खुसी छैनन्। सोमबार बिहान ओरलान्डोसँग ३–० को लज्जास्पद हार बेहोरेको छ।
मियामीले पछिल्ला सातमध्ये एक खेलमा मात्रै जित हात पारेको छ। खेलपछि सामान्यतः अन्तर्वार्ता नदिने मेसीले यसपल्ट टोली एकतामा जोड दिएका छन्।
‘यो कठिन समय हो। तर, हामी यसबाट बाहिर निस्कनेछौं,’ मेसीले स्पानिस भाषामा भने,‘सबै कुरा ठिक भइरहेको बेला एकतामा रहन सजिलो हुन्छ। तर, यस्तो कठिन घडीमा हामी अझ बढी एकजुट हुनुपर्छ, वास्तविक टोली बन्नुपर्छ र यो संकट पार गर्नुपर्छ।’
मेसीको टोली मियामी मेजर लिग सकर (एमएलएस) मा यो सिजन ६–३–४ को नतिजासहित पूर्वी कन्फरेन्सको छैटौं स्थानमा छ। गत सिजन मियामीले २२–४–८ को सानदार रेकर्डसहित एमएलएस इतिहासकै सर्वाधिक अंक र जित प्रतिशत हासिल गरेको थियो।
मात्र चार हार बेहोरेको थियो। मियामीले सिजनको न्यूनतम हारको कीर्तिमान बराबरी पनि गरेको थियो। तर, यस सिजन त्यो फर्म कतै देखिएको छैन।
‘हामी लगातार खराब नतिजा भोगिरहेका छौं। तर, हामीले काम गरिरहनुपर्छ र अबको खेलतर्फ ध्यान दिनुपर्छ। मे महिनामा तीन वा चार खेल बाँकी छन्। ती खेल सकेसम्म राम्रोसँग सक्नुपर्छ, ताकि क्लब विश्वकपमा तयारीका साथ जान सकियोस्,’ मेसी भन्छन्।
क्लब विश्वकप जुन १४ बाट सुरु हुँदैछ, जुन मियामीको आगामी ठूलो लक्ष्य हो। तर, त्यसभन्दा अगाडि सम्भवतः ठूलो खबर आउनसक्ने संकेत प्रशिक्षक जेभियर म्यास्चेरानोले दिएका छन्।
खेलअघि म्यास्चेरानोले संकेत मेसी र क्लबबीचको सहकार्य अझ लामो समयसम्म कायम रहनसक्ने संकेत गरेका छन्। मेसी हाल साढे दुई वर्षे सम्झौताअन्तर्गत क्लबमा छन्, जुन यो सिजनको अन्त्यसम्म मात्र हो।
तर, क्लबले २०२६ सम्म मियामी अन्तर्राष्ट्रिय विमानस्थलनजिक निर्माणाधीन नयाँ स्टेडियममा सर्ने योजना बनाएको छ। तबसम्म मेसीलाई राख्न चाहेको मियामीले प्रष्ट पारिसकेको छ।
गत हप्ता क्लबले मेसीका लामो समयका साथी तथा बार्सिलोना र मियामी टिममेट जोर्डी आल्बासँग २०२७ सम्मको सम्झौता थप गरेको थियो। यसले मेसीलाई क्लबमा राख्ने सम्भावनालाई थप बलियो संकेत दिएको छ।
‘केही हप्तामा लियोसम्बन्धी केही समाचार आउने आशा गरौं। त्यो क्लब, समर्थक र सम्पूर्ण एमएलएसका लागि धेरै महत्त्वपूर्ण हुनेछ,’ म्यास्चेरानोले भने।