काठमाडौं। विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार बलोन डी’ओर अब महिला खेलाडीका लागि पनि अनुकूल समयमा प्रदान गरिने भएको छ।
सन् २०२५ को बलोन डी’ओर पुरस्कार समारोह आगामी सेप्टेम्बर २२ मा पेरिसमा हुने युइएएफएले सोमबार जनाएको छ। यो पटकको मिति महिला राष्ट्रिय टोलीका लागि तोकिएका अनिवार्य प्रशिक्षण क्याम्प वा खेल नपर्ने समयमा परेको छ। त्यसैले महिला खेलाडीलाई पनि उपस्थित हुने मौका मिल्नेछ।
‘महिला खेलाडीहरूको उपलब्धिलाई सम्मान गर्न हामीले यसपालि तीनवटा नयाँ विधा थप गरेका छौं,’ युएएफएले भन्यो। यो समारोह ‘फ्रान्स फुटबल’ पत्रिका चलाउने प्रकाशन संस्थासँग सहकार्यमा आयोजना हुँदै आएको छ।
अन्तर्राष्ट्रिय क्याम्प हुँदा अवार्ड कार्यक्रम राखिएको भन्दै गत दुई वर्षदेखि लगातार महिला खेलाडी र प्रशिक्षकहरूले आलोचना गर्दै आएका थिए। यी अवार्ड कार्यक्रमा सन् २०२३ को अक्टोबर ३० र २०२४ को अक्टोबर २८ मा आयोजना भएका थिए। यो बेला पुरुष च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय खेल कुनै थिएनन्। तर, महिलाका खेल भइरहेका थिए।
तर, सेप्टेम्बर २२ कुनै पुरुष वा महिला खेल छैन। यो मिति सबै खेलाडीको लागि ‘फ्री विक’ हुने भएकाले समारोहमा उपस्थिति सहज हुनेछ। गत वर्ष बलोन डी’ओर पुरुष र महिला दुवै विजेता स्पेनबाट थिए।
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री र बार्सिलोनाकी प्लेमेकर आइताना बोनमातीले यो अवार्ड जितेका थिए। आइतानाले लगातार दोस्रो पटक यो अवार्ड जितेकी हुन्।
यस पटक महिला वर्गमा तीन नयाँ अवार्ड थपिएका छन्। उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट गोलरक्षक र क्लब तथा राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीले पनि अवार्ड प्राप्त गर्नेछन्। २०२५ का बलोन डी’ओरको मनोनयन सूची आगामी अगस्टमा सार्वजनिक गरिने युएएफएले जनाएको छ।