काठमाडौं। आर्सनलले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ। नटिङ्घम फरेस्टले पनि त्यो सपना जीवित राखेको छ।
आइतबारको प्रिमियर लिगका खेल भावनात्मक बिदाइका दिन बने। एभर्टनले आफ्नो ऐतिहासिक स्टेडियम गुडिसन पार्कलाई बिदाइ गर्यो। जेमी भार्डीले आफ्नो ५००औं खेलमा गोल गर्दै सम्झनलायक बिदाइ पाए।
तर, सबैभन्दा महत्त्वपूर्ण जित आर्सनलको रह्यो। आर्सनलले न्यूक्यासललाई १–० ले पराजित गर्दै च्याम्पियन्स लिगको स्थान सुरक्षित गर्यो। यस खेलमा फेरि नायक बने उनै डेक्लान राइस।
यो जितसँगै मिकेल आर्टेटाको टोलीले प्रिमियर लिग विजेता लिभरपुलसँगै स्वत: छनोटमा स्थान पाएको हो। आर्सनलभन्दा तल रहेका पाँच टोलीले बाँकी तीन स्थानका लागि संघर्ष गरिरहेका छन्। योसँगै सिजनको अन्तिम साता प्रतिस्पर्धा झनै रोचक बनेको छ।
न्यूक्यासल अझै तेस्रो स्थानमा छ। तर, चेल्सी र एस्टन भिल्लासँग समान अंक छ। म्यानचेस्टर सिटी र फरेस्टभन्दा न्यूक्यासल मात्र एक अंक अगाडि छ। फरेस्टले वेस्ट ह्यामलाई २–१ ले हराउँदै शीर्ष पाँचको दौडमा आफ्नो सम्भावना कायम राखेको छ।
यो फरेस्टका लागि उल्लेखनीय उपलब्धि हुनेछ। गत सिजन अन्त्यमा मात्र फरेस्ट रेलिगेसनबाट जोगिएको थियो। सिटीले भने मंगलबार घरेलु मैदानमा बर्नमाउथविरुद्ध खेल्नेछ।
उक्त खेलमा जित हात पार्दै सिटी तेस्रो स्थानमा उक्लिन सक्छ। फरेस्टले अन्तिम खेल चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ, जुन सम्भवतः च्याम्पियन्स लिग छनोटको प्लेअफजस्तै हुन सक्छ।