काठमाडौं। दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित निकालेको छ।
सोमबार राति सम्पन्न खेलमा नेपाल १२३ रनले विजयी भएको हो। नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनायो।
मेरिलेबोनका नोरिसले सर्वाधिक ५६ रन बनाए। ६८ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। नेलर ५४, फ्रेन्डस ३७ र डन १९ रनमा आउट भए।
नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। पाँच ओभर बलिङ गरेका उनले २४ रन खर्चिए। नन्दन यादव र कुशल भुर्तेलको नाममा समान दुई विकेट रह्यो। करण केसी, सागर ढकाल र बसीर अहमदले पनि आफ्नो नाममा समान एक विकेट राखे।
त्यसअघि नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको थियो। नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए। ६७ बल खेलेका उनले १२ चौका र चार छक्का प्रहार गरे।
भीमाले ९० बलमा १० चौका र दुई छक्कासहित १०४ रन बनाए। यी दुवै रिटायर्ड हट भएका हुन्। अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे।