काठमाडौं। माल्दिभ्समाथि गोलको दर्जन गोल बर्षाउँदै भुटान साफ च्याम्पियनसिप २०२४ को समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा भुटान १३-० ले विजयी भएको हो।
पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अंक जोडेको छ। भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो। अन्तिम खेल खेल्न बाँकी रहेको नेपालको चार अंक छ।
नेपालले बिहीबार नै श्रीलंकासँग खेल्ने छ। नेपालले माल्दिभ्सविरुद्ध ११ गोल गरेको थियो। अब नेपाललाई समूहको शीर्ष स्थानमा उक्लिन कम्तिमा पाँच गोल गर्नुपर्नेछ। यो सम्भव भएमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ। नत्र अघिल्लो संस्करणका दुई फाइनलिस्ट (नेपाल र बंगलादेश) सेमिफाइनलमै भिड्ने छ।
भुटानको जितमा डेकी लाजोम एक्लैले पाँच गोल गरिन्। पेमा छोडेन र छरिङ याङ्ग्देनले समान दुई गोल गरिन्। सोनम छोडेन, छरिङ लाङ्देन, डेकी याङ्देन र नाङ्मग्याल डेमाको नाममा समान एक गोल रह्यो।