काठमाडौं। स्टार स्ट्राइकर सावित्रा भण्डारीले साफ महिला च्याम्पियनसिप २०२४ मा पहिलोपल्ट श्रीलंकाविरुद्ध बिहीबार खेल्दै छिन्, जसमा नेपालले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
नेपालको लागि कीर्तिमानी गोलकर्ता साम्बालाई सेमिफाइनल प्रवेशको लागि निर्णायक रहेको खेलमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दशरथ रंगशालमा साँझ ५:३० बजे सुरु हुने खेलमा पहिलो रोजाईमा उतार्ने तयारी गरेका छन्। उनीसँगै माल्दिभ्सविरुद्ध ५ गोल गरेकी रेखा पौडेल र रश्मिकुमारी घिसिङले नेपालको अग्रपंक्ति सम्हाल्ने अवसर पाउनेछन्।
फ्रान्सेली क्लब अभान्ट ग्वेइन्ग्याम्पमा व्यस्त भएकीले साम्बाले साफ २०२४ मा भुटानविरुद्ध गोलरहित टुंगिएको पहिलो खेल गुमाएकी थिइन्। फ्रान्समा शनिबार लिग खेलेर आइतबार बिहान काठमाडौं ओर्लिएकी उनलाई नेपालले सोमबार माल्दिभ्सलाई ११–० हराएको खेलमा आराम दिइएको थियो।
साम्बा, रेखा र रश्मिले समग्रमा अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरेका छन्। सर्वाधिक ५१ गोल साम्बाले गरेकी छन्। युएईको अवुधावी कन्ट्री क्लबमा आबद्ध रेखाले नेपालको लागि ९ गोल गरेकी छन् भने यो साफमा खाता खोल्न संघर्षरत रश्मिको नाममा २ गोल रहेको छ।
यो साफका सुरुआती दुई खेलमा नेपालको प्रदर्शनबारे साम्बा भन्छिन्, ‘भुटानविरुद्ध हाम्रा खेलाडीबिच एकआपसमै गोल हान्न प्रतिस्पर्धा भएको देखियो। दोस्रो खेलमा कोचको ट्याक्टिकल फिलोसोफी उपयोगी देखियो। राम्रो खेल्यो। वास्तविक संयोजनको फुटबल खेल्यो र गोल पनि भयो।’
माल्दिभ्सविरुद्ध रेखाको ५ गोलबारे साम्बा भन्छिन्, ‘टिमको लागि सकारात्मक रिजल्ट आयो। उनले पाएका चान्सहरू उपयोग गरिन्। अझै हाम्रो खेल सकिएको छैन। कठिन खेलहरू बाँकी छन्। उनलाई राम्रो प्रदर्शनको लागि शुभकामना। उनको गोलको योगदानले टेवा पुगिरहेको छ र आउने दिनमा टिम अझै उत्साहित हुन्छ। हामी प्रत्येक खेललाई फाइनल सम्झेर खेल्दै गन्तव्यमा पुग्न एक भएर लाग्नेछौं।’
दक्षिण एसियाली महिला फुटबलको मुख्य प्रतियोगिताको सातौं संस्करण हो यो साफ च्याम्पियनसिप २०२४। साफमा नेपालले विगतका ६ मध्ये ५ फाइनल खेलेको छ र सधैँ फाइनल हारेको छ। साफसहित नेपालले ११ प्रतियोगिताको उपाधि होड गुमाएको छ। त्यसैले नेपाली महिला टिम अझै पहिलो उपाधिको खोजीमा छ।
साफमा पाँचपल्ट मैदानमा ओर्लन लागेकी साम्बाले उपाधिविहीन यात्राबारे भनिन्, ‘होम क्राउड र होम ग्राउन्डको प्रेसरलाई सम्हालेर कोचको निर्देशन अनुसार खेल्यौं भने उपाधिको खडेरी यसैपालि तोड्न सम्भव छ।’