काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ को समीकरण ‘क्लियर’ जस्तै छ। समूह ‘ए’ को विजेता बंगलादेश र उपविजेता भारत अन्तिम चारमा पुगिसकेका छन्।
यी दुई टोलीले अर्को समूहको नतिजा कुर्दै छन्। यस्तोमा यी दुई टोलीसँग भिड्ने आयोजक नेपाल र भुटान नै दाबेदार हुन्। अहिलेसम्मको नतिजाले पनि भन्ने यही हो। अहिल्यै कै नतिजा ठ्याक्कै कायम रहने हो भने भुटानले बंगलादेश र नेपालले उही पाँचपल्टको भारतसँग सेमिफाइनल खेल्ने छ। किनभने चार अंक जोडेको नेपाल गोलअन्तरमा अगाडि रहँदै समूह ‘बी’ को शीर्ष स्थानमा छ भने समान अंक रहेको भुटान दोस्रोमा।
तर, यति भन्दै गर्दा समूह ‘बी’ को अन्तिम खेललाई भने भुल्नु हुँदैन। किनभने यो समूह अझै जटिल अवस्थामा छ। यो समूहको अन्तिम खेलमा भिड्दै छन् भुटान र माल्दिभ्स अनि नेपाल र श्रीलंका। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १:३० बजे हुने खेलमा भुटानले प्रतियोगिताकै कमजोर माल्दिभ्सविरुद्ध जित हात पारे समीकरण केही बिग्रिन सक्छ। त्यसैले त्यही मैदान साँझ ५:३० बजे श्रीलंकासँग हुने खेल नेपाल जित्नै पर्ने दबाबमा हुनेछ।
चार अंकसहित भुटानले सेमिफाइनलको सम्भावना बलियो बनाउँदा माल्दिभ्स एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। दुई खेलबाट तीन अंक जोडेको श्रीलंकाको अन्तिम चारको सम्भावना जीवितै छ। यस्तोमा श्रीलंकाले अपत्यारिलो नतिजा ल्याउँछ भने नेपाल साफ इतिहासमै पहिलोपल्ट समूह चरणबाटै बाहिरिने छ। तर, श्रीलंका र माल्दिभ्स दुवैले जित नै निकाले नेपाल अन्तिम चारमा पुग्नेछ।
तर, के यो सम्भव होला? यसपल्टको साफ नतिजाले यो पनि सम्भव नहोला भन्न सकिँदैन। किनभने यो साफले केही दिएको छ भने त्यो हो अपत्यारिलो नतिजा नै हो। पहिलो खेलमा भारतसँग ५–२ ले पराजित भएको पाकिस्तानले बंगलादेशलाई लगभग पराजित नै गरिसकेको थियो। तर, बंगलादेशको मिहिनेत भन्नुपर्छ ९० मिनेट दबाब झेलेको खेलमा सामसुन्नाहर जुनियरले गोल गर्दै हार टारेकी थिइन्।
अर्को खेलमा बंगलादेशले भारतमाथि पहिलो हाफमा दबाब कायम राख्दै ३–१ को जितसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। भारतको साफ इतिहासमा यो समग्रमा तेस्रो हार हो। बंगलादेश भने लगातार दोस्रो जित।
अर्कोतर्फ भुटानले इतिहासमा पहिलोपल्ट नेपाललाई गोलरहित बराबरीमा रोकेको छ। यही भुटानलाई पनि उसले धेरै गोलअन्तरले जित्न सकेको छैन। त्यसैले नेपाल अझै ढुक्क हुने स्थितिमा छैन। अर्कोतर्फ नेपालले अझै तालमेल मिलाउन सकेको छैन भने लेफ्ट ब्याक हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीको अनुपस्थितिले नेपाललाई केही असहज बनाउन सक्छ।
तर, सकारात्मक पक्ष भने दुई खेल गुमाएकी गोल मेसिन सावित्रा भण्डारी फर्किएसँगै टोली उत्साहित छ। नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाब भएको कारण पनि मुख्य प्रशिक्षक राजेन्द्र तामाङको पहिलो रोजाइमा ‘गोल मेसिन’ सावित्रा नै हुनेछिन्। अझ रेखा पौडेल र प्रीति राईजस्ता खेलाडी लयमा देखिनुले नेपाललाई कुनै अफ्ठेरो नहुने आकलन गर्न सकिन्छ।
अघिल्लो खेलमा स्ट्राइकर रेखा एक्लैले पाँच गोल गर्दा मिडफिल्डर प्रीतिले ह्याट्रिक गरेकी थिइन्। तर, प्रशिक्षक तामाङ माल्दिभ्ससँगको ११–० को त्यो ऐतिहासिक जितलाई जित मान्दैनन्। फितलो तयारी र घरेलु लिग नहुनुको फाइदा नेपालले उठाएको कारण श्रीलंकाविरुद्धको खेल नै बरू उनले महत्त्वपूर्ण ठानेका छन् ।
भन्छन्, ‘माल्दिभ्ससँगको जितमा गर्व गर्नुपर्ने कुरा छैन। हाम्रो महत्त्वपूर्ण खेल भनेको श्रीलंकासँग हो। यही खेलले सेमिफाइनल यात्रा तय गर्नेछ। त्यसैले यसलाई टप म्याचमा लिएको छु। फर्मिसनसहित खेलाडी चेन्ज गर्नेछु।’ अपरिपक्व खेल पस्किँदै आएको माल्दिभ्समाथि श्रीलंकाले पहिलो खेलमै १–० को नतिजा हात पारेको थियो। तर, श्रीलंकलाई नेपालविरुद्धको खेलमा भने सहज नहुन सक्छ।
इतिहास हेर्ने हो भने पनि श्रीलंकाले नेपालसामु बलियो चुनौती पेस गर्न सकेको छैन। नेपालसँग पाँचपल्ट भिड्दा श्रीलंकाले जितको स्वाद चाख्न पाएको छैन। यी खेलहरूमा १७ गोल हुँदा श्रीलंकाले एक गोल पनि फर्काउन सकेको छैन। त्यसैले श्रीलंका छैटौं भेटमा गोलको खोजीमा हुनेछ। तर, अन्तिम चारको सम्भावना जीवितै रहेको कारण श्रीलंका पनि सहर्ष हार नमान्ने पक्षमा छ।
‘हामीसँग तीन अंक छ। त्यसैले सेमिफाइनलको सम्भावना कायम छ। नेपाल राम्रो टोली हो। तर, चुनौती दिन र अन्तिमसम्म लड्न हामी तयार छौं,’ श्रीलंकाका मुख्य प्रशिक्षक मोहम्मद हुसेन रुमी भन्छन्।
हुसेनले भनेझैँ चुनौती दिँदै नेपाललाई पराजित गर्न सके श्रीलंकाले भारत र बंगलादेशसँगै अन्तिम चारमा स्थान बनाउने छ। सकेन भने यसपल्ट पनि यो टोली समूह चरणबाटै घर फर्किने छ। त्यसैले बंगलादेश र भारत यी दुई खेलको नतिजा कुरिरहेका हुनेछन्।