काठमाडौं। नेपालले जुन किसिमको खेलाडी मैदान उतारेको थियो, त्यसले साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमै भुटानविरुद्ध कम्तिमा जित हासिल गर्नुपर्ने थियो। तर, इतिहासकै अनुभवी टोली उतारेको नेपालका लागि भइदिएन त्यस्तो।
अघिल्ला चार भेटमा हार त के बराबरीसम्म नखेलेको नेपाल इतिहासमै पहिलोपल्ट अप्रत्याशित रूपमा भुटानसँग गोलरहित बराबरीमा रोकियो र अंक बाँड्न बाध्य भयो। यो बराबरीसँगै उपाधि जित्ने लक्ष्यमा रहेको साबिक उपविजेता तथा घरेलु टोली नेपाललाई दबाब थपिएको छ। यही दबाबको बीचमा नेपालले सोमबार समूहचरणको दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने यो खेल साँझ ५:३० बजे हुनेछ। नेपालले इतिहासकै खराब प्रदर्शन गर्दा माल्दिभ्सले पनि प्रतियोगितामा सुखद सुरुआत गर्न सकेन। नेपालमै भएका साफका पछिल्ला दुई संस्करणमा गोलविहीन भएको माल्दिभ्स श्रीलंकाविरुद्ध १–० ले पराजित भएको थियो।
नेपाल, भुटान र श्रीलंका रहेको समूहबाट अगाडि बढ्न अब माल्दिभ्सलाई गोलको खडेरी तोड्दै जित निकाल्नुको विकल्प हुनेछैन। त्यसैले माल्दिभ्स यही लक्ष्यसाथ मैदान उत्रिने छ।
माल्दिभ्सका मुख्य प्रशिक्षक मोहम्मद निजाम नेपालविरुद्ध सर्तक भएर खेल्ने बताउँछन्। ‘प्रत्येक टोलीको आआफ्नौ विशेषता छ। तर, नेपाल बलियो टोली हो। हामीले यसअघि पनि खेलिसकेको हुँदा सहज प्रतिद्धन्दीको रूपमा लिएका छैनौं। त्यसैले हामी सर्तक भएर खेल्छौं,’ उनले भनेका थिए ।
साफमा नेपाल र माल्दिभ्सबीच तीनपल्ट भेट भएको छ। यी तीन भेटमा नेपालले हार बेहोर्नु परेको छैन। त्यसैले पाँचपल्टको उपविजेता नेपाल आफूभन्दा कमजोर मानिएको माल्दिभ्सविरुद्ध बलियो स्कोर लाइनको जित निकाल्ने लक्ष्यमा हुनेछ।
यो समूहमा भुटान नै बलियो देखिएको हुनाले समूह विजेता बन्न पनि नेपाललाई माल्दिभ्सविरुद्ध फराकिलो जितको विकल्प छैन। किनभने पाँचपल्टको साफ विजेता भारत लगभग समूह विजेता बनिसकेको छ। समूह ‘ए’ मा भारतले अन्तिम खेल बुधबार साबिक विजेता बंगलादेशसँग खेल्नेछ।
अघिल्लो संस्करण यही रंगशालामा नेपालसँग फाइनलमा भिडेको बंगलादेशले पनि प्रतियोगितामा सुखद सुरुआत गर्न सकेको छैन। आइतबार भएको खेलमा बंगलादेश पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको थियो। पहिलो खेलमा भारतसँग ५–२ ले हारेको पाकिस्तानको अगाडि यात्रा बुधबार भारत र पाकिस्तानविरुद्ध हुने खेलले कोर्ने छ।
यदि भारतले फराकिलो जित हासिल गरेमा समूह ‘बी’ को विजेतालाई सेमिफाइनलमा केही सहज प्रतिद्धन्दी पर्नेछ। त्यही भएर नेपाल र भुटानको भिडन्त समूह विजेता बन्नेमा हुनेछ।
तर, नेपाललाई माल्दिभ्सविरुद्ध खेलमा सहज भने हुनेछैन। टोलीका दुई खेलाडी रक्षक हिरा भुजेल र मिडफिल्डर दीपा शाही अनुस्थिति रहनेछ। भुटानविरुद्धको पहिलो खेलमा दुवै खेलाडीले एसिएलको चोट बोकेका थिए। उनीहरू ९ महिना मैदान बाहिर रहनेछन्। त्यसैले उनीहरूको स्थान कसले लिने भन्ने चिन्ता नेपाली टोलीमा थपिएको छ।
तर, मुख्य प्रशिक्षक राजेन्द्र तामाङको ध्यान भने स्कोर लाइनमा छ। पहिलो खेलमा सावित्रा भण्डारीको स्थानमा मैदान उत्रिएकी रश्मीकुमारी घिसिङले बलियो छाप छाड्न सकिनन्। उनी एन्फा महिला लिगको सर्वाधिक गोलकर्तासमेत हुन्। त्यस्तै, सविता रानामगर र अमिसा कार्कीले पनि पाएको केही अवसरलाई गुमाउन पुगेकी थिइन्।
मिडफिल्ड राम्रोसँग नचल्नु, फरवार्डहरु गोल गर्न हतारिनु र सावित्रा टोलीमा नहुनुले भुटानसँग बराबरी खेल्न परेको तामाङले बताएका थिए। ‘मिडफिल्डले मुख्य खेल कन्ट्रोल गर्नुपर्ने त्यो नभएपछि फरवार्ड पनि कन्ट्रोल भएन। खेलाडीहरु सुरुमै गोल गर्न हतारिए । अहिले गोल गर्न सकेनभन्दा पनि मुख्य कुरा हाम्रो गोल मेसिन सावित्रा भण्डारी हो, उनी हामीसँग छैन । टिममा भएको खेलाडीले चान्स पनि पायो तर टार्गेटमा हान्न सकेन,’ उनले भनेका थिए।
साफ च्याम्पियनसिपमा १९ गोल गरिसकेकी सावित्रा टोलीका लागि कति महत्त्वपूर्ण छिन् तामाङले बुझिसकेका छन्। त्यसैले सोमबारको खेलमा उनी सावित्रालाई मैदान उतार्ने प्रयासमा छन्।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा आइतबार मध्यराति नेपाल आइपुगेकी छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाएकी साम्बा गत वर्ष फ्रान्सेली क्लबमा आबद्ध भएकी थिइन्।
उनलाई यो साफको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय खेलको लागि छुट्याएको अवधि (फिफा विन्डो) मा नरहेकोले पनि क्लबले छाड्न अस्वीकार गरेको थियो। उनको उपस्थितिसँगै प्रशिक्षक तामाङ गोल निकाल्नेमा ढुक्क छन्। त्यसैले माल्दिभ्सविरुद्ध सावित्रालाई मैदान उतार्न उनले प्रयास गर्नेछन्।
‘१२ घण्टाको उनले रेस्ट गर्छिन्। हामीसँग दिउँसो भेट हुन्छ होला। उनले खेल्न सक्छु भने हामी खेलाउँछौं। रेस्ट गर्छु भनिन् भने हामी रेस्ट गराउँछौं। तर, हामीलाई सावित्री एकदमै महत्त्वपूर्ण छ,’ तामाङ भन्छन्।
पहिलो खेलमा तामाङले सोचेजस्तो नतिजा आइदिएको भए सावित्रालाई माल्दिभ्सविरुद्धको खेलमा आराम दिँदा केही फरक पर्ने थिएन। तर, ‘गर या मर’को स्थितिमा टोली भएको कारण पनि उनको खाँचो अझ बढेको तामाङ बताउँछन्। त्यसैले कम्तिमा पनि उनी सावित्रालाई दोस्रो हाफमा मैदान छिराएर भएपनि माल्दिभ्ससँग तीन अंक खोस्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछन्।