पथरी। पहिलो हाफअघिको अग्रता जोगाउन नसक्दा सिराहको सलहेस युवा क्लब मोरङमा जारी पथरी गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ। ट्राइब्रेकरमा काठमाडौंको बिग्रेड ब्वाइज क्लबसँग ४–२ ले पराजित भएको हो।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। बिग्रेडले फाइनल प्रवेशका लागि झापा ११ सँग बिहीबार खेल्ने छ। सहलेसका उमेश कार्की र बिग्रेडका आशिष् राईले गोल गरे।
मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा उमेशले २४औं मिनेटमा गोल गर्दै सलहेसलाई सुरुआती अग्रता दिलाएका थिए। मिलन राईले प्रहार गरेको फ्रिकिक बल बारमा लागेर फर्किएको थियो। त्यही बललाई उमेशले जाली चुमाए।
ब्रिगेड ६५औं मिनेटमा खेलमा फर्कियो। आशिष्ले पेनाल्टीमार्फत गोल गरे। विदेशी खेलाडी इमानुएलले ब्रिगेडका भुवन बस्नेतलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए।
आशिष्ले प्रहार गरेको पेनाल्टी सलहेसका गोलकिपर रेम्बो चौधरीले बचाउन सकेनन्। निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलियो। सलहेसका उमेश कार्की र शिशिर लेखिको प्रहार बाहिरिँदा अमन लामा र मिलन राईले गोल गरे। ब्रिगेडका गौरव महर्जन, एक्सन लिम्बू, दिवाकर चौधरी र आशिष् राईले गोल गरे।
खेलको म्यान अफ द म्याच ब्रिगेडका आशिष् घोषित भए। बुधवार संकटाले सेमिफाइनलमा आयोजक पथरी ११ सँग प्रतिस्पर्धा गर्नेछ।