इलाम । स्पोर्टिङ इलाम डे मेची एफसीले राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि इलामले विकेशलाई मार्की बनाएको हो । गत सिजन काठमाण्डौ रेजर्समा रहेका कुथु यस पटक इलामसंग अनुबन्धित भएका हुन् ।
त्रिभुवन आर्मीका गोलरक्षक कुथुको कप्तानीमा गत सिजनमा काठमाण्डौले धनगढीलाई हराउँदै उपाधि जितेको थियो । उनले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सञ्चालन हुनेछ ।
इलाम टिमको मालिक संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ हुन् । इलामले पहिलो पटक एनएसएल खेल्न लागेको हो ।
गत बर्ष इलामले मार्की खेलाडीको रुपमा तेज तामाङ र प्रशिक्षकको रुपमा मेघराज केसीलाई अनुबन्ध गरेको थियो । तर प्रतियोगिता आयोजना हुन सकेन ।