काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको तेस्रो खेलमा समेत सुरुवाती ११ मा अटाएका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीप सिड्नी सिक्सर्सविरुद्धको खेलमा टिममा परेका हुन् । सिड्नीविरुद्ध खेलका लागि मेलबर्नले निकालेको सुरुवाती ११ मा सन्दीप परेका छन् । अघिल्ला दुई खेलमा उच्च प्रदर्शन गरेको कारण सन्दीप पहिलो रोजाईमा परेका हुन् ।

तेस्रो खेलमा सन्दीपको टिमले ब्याट फ्लिप जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ ।
घरेलु टोली सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न पहिलो जितको खोजीमा हुनेछ । सिड्नी भने दोस्रो जितको खोजीमा हुनेछ ।
यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लागि यस खेल महत्वपूर्ण समेत रहेको छ । पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भएको थियो ।
लिगमा अंकबिहिन मेलबर्न पुछारमा छ । २ अंक जोडेको सिड्नी चौथो स्थानमा छ ।
किफायती बलिङ गरिरहेका सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिईसकेका छन् ।
सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए ।
यस्तै दोस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका थिए ।