एजेन्सी । अष्ट्रेलियाविरुद्वको तेस्रो टेष्ट क्रिकेटमा भारतले पकड बनाएको छ । चेतेश्वर पुजाराको शतक र विराट कोहलीको अर्धशतकको मदतले भारतले पहिलो पालीमा घरेलु टोलीविरुद्व मेलबर्नमा चार सय रन पार गरेको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको भारतले पहिलो दिन दुई विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । दोस्रो दिन कप्तान विराट कोहली र चेतश्वर पुजाराले पाली अगाडी बढाएका थिए । तर कोहली ८२ र पुजारा १ सय ६ रनमा आउट भए । दुवैले तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेका थिए ।
कप्तान कोहलीले करियरको १९ औ अर्धशतक पुरा गर्दा पुजाराले १७ औ शतक बनाए ।
१९ औ ओभरमा हनुमा विहारी आउट भएपछि मैदान आएका पुजाराले १ सय १४ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै आफ्नो १७ औ शतक पुरा गरेका थिए ।
पुजाराको सिरिजमा दोस्रो र अष्ट्रेलियाविरुद्व चौथाे शतक हो । यसअघि उनले एडिलेड टेष्टमा १ सय २३ रनको पाली खेलेका थिए ।
पहिलो दिन मयांक अग्रवालले ७६ रनको पाली खेल्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । करियरको पहिलो टेष्ट खेलेका मयांकाले पुजारासंग मिलेर दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।
एडिलेडमा पहिलो टेष्ट जितेको भारतले पर्थमा भएको दोस्रो टेस्ट गुमाएको थियो । ४ म्याचको सिरिज १–१ को बराबरीमा छ ।