एजेन्सी । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियम तथा चेल्सीका फरवार्ड इडेन हाजार्ड विश्व स्तरीय खेलाडी भएको बताएका छन् ।
प्रशिक्षक मार्टिनेजले इंग्लिश मिडिया दि टाइम्ससंग कुरा गर्दै हाजार्ड बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो जत्तिकै उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।

प्रशिक्षक मार्टिनेजले विश्व मेस्सी र रोनाल्डोको पछि लागेको तर उनीहरु जत्तिकै स्थिर र निर्णायक खेलाडी हाजार्ड रहेको दाबी गरे ।
'अन्तर्राष्ट्रिय स्तरमा मैले एक खेलाडीले मात्र निरन्तर उच्च स्तरमा खेलिरहेको देखेको छु । तपाईहरु मेस्सी र रोनाल्डो छान्नु होला । मलाई लाग्दैन कि तपाई अर्को निर्णायक खेलाडी छनोट गर्नु हुन्छ,' प्रशिक्षक मार्टिनेजले भनेका छन्,'हाजार्डले लिलीबाट उपाधि जितेका छन् । जुन अहिलेको टिमले जित्न सक्दैनन् ।'

यस्तै प्रशिक्षक मार्टिनेजले हाजार्डले राष्ट्र र क्लबको लागि उस्तै प्रदर्शन गरिरहेको बताए ।
'हाजार्डले चेल्सीबाट लिगको उपाधि जितेका छन् । उ राष्ट्रको अगुवा हो । जसले विश्वकपमा कास्य पदक दिलाउन सक्यो,' प्रशिक्षक मार्टिनेजले थपे, ' खेलमा उनको स्थिरता छ । हाजार्ड अहिले करियरको सबैभन्दा राम्रो क्षणमा छन् ।'
२७ बर्षीय हाजार्डले यस सिजन चेल्सीका लागि ८ गोल र ९ गोलका लागि पास उपलब्ध गराएका छन् ।