एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा युएईको क्लब अल अइन फुटबल क्लबलाई ४ - १ गोल अन्तरले हराउँदै रियलले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
दुबईस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा रियललाई जित दिलाउन लुका मोड्रिच, मार्कोस लोरेन्टे र सर्जियो रामोसले एक एक गोल गरे । रियल एक गोल आत्मघाती उपहार पाएको थियो । अल अइनका त्सुकासा शिओतानीले एक गोल गर्दा याहिया नाडेरले आत्मघाती गोल गरे ।

घरेलु टोलीविरुद्ध रियलले खेलको १४ औं मिनेटमा मोड्रिचको गोलबाट अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा लोरेन्टेले गोल गर्दै रियललाई २ - ० को अग्रता दिलाए । ७९ औं मिनेटमा कप्तान रामोस्ले गोल गर्दै रियलको अग्रता ३ - ० को बनाए ।
खेलको ८६ औं मिनेटमा घरेलु टोलीका शिओतानीले गोल गर्दै खेल ३ - १ मा ल्याए । तर, खेलको अन्तिम समयमा इन्जुरी समयमा अल अइनका नाडेरले आत्मघाती गोल गर्दा रियलले ४ - १ जितसहित उपाधि माथि कब्जा जमायो ।
यसअघि रियलले सन् २०१६ र २०१७ मा उपाधि जितेको थियो । समग्रमा भने रियलले चौथो पटक क्लब विश्वकप फुटबलको जितेको हो । जुन कीर्तिमानी उपाधि हो । अहिलेसम्म रियलले बाहेक अन्य क्लबले ४ पटक क्लब विश्वकपको उपाधि जितेको छैन ।