एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सी पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी लेष्टर सिटीसंग १ - ० ले पराजित भएको हो ।
चेल्सीले लेष्टरसंग घरेलु मैदानमै हार व्यहोरेको हो । लेष्टको जितमा जेमी भार्डीले निर्णायक गोल गरे ।
स्टामफोर्ड ब्रिजमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई ३ अंक दिलाए । 
बल पोजिसनमा एकतर्फी पकड बनाएपछि चेल्सीले लेष्टरको डिफेन्स र गोलकिपर चिर्न सकेनन् ।
यो हारसंगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको चेल्सीको १८ खेलबाट ३७ अंक छ । चेल्सीलाई हराउन सफल लेष्टर २५ अंक जोडेर लिगको नवौं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत अन्य खेलमा बोर्नेमाउथले ब्राइटनलाई २ - ० ले पराजित गर्दा साउथह्याम्पटनले हडर्सफिल्डलाई ३ - १ ले हराएको छ । यस्तै वाट्फोर्डले वेष्ट ह्यामलाई २ - ० ले हराउदा फुलहम र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।