एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले बर्नलीलाई ३ - १ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पेरिक एम्रिक आबुमियाङ दुई गोल गरे । यस्तै एलेक्स इओबीले एक गोल थपे । बर्नलीका एस्ले बर्नेसले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियममा खेलको १४ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २ - ० को अग्रता दिलाए ।

खेलको ६३ औं मिनेटमा बर्नलीका बर्नेसले गोल गर्दै खेल २ - १ को स्थितिमा ल्याए । तर, खेलको इन्जुरी समयमा इओबीले गोल गर्दै आर्सनललाई ३ - १ को जित दिलाए ।
जितसंगै आर्सनलले चौथो स्थानको चेल्सीसंग अंक बराबरी गरेको छ । पाँचौ स्थानको आर्सनलले १८ खेलबाट ३७ अंक जोडेको छ ।