काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।
भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको थियो ।
तर, सहिद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।
एन्फाले दोस्रो किस्ताको तयारी खर्च, खेलको म्याच मनि, म्याच बल, खेलाडीले पाउनु पर्ने म्यान अफ दि म्याच रकम एन्फाले अहिलेसम्म नदिएको कारण बिरोध स्वरूप क्लबहरुले यस्तो निर्णय गरेको जनाएको छ ।
एन्फाले निर्धारित तालिका अनुसार भोलि शुक्रबार भने दशरथ रंगशालामा टिमको प्रशिक्षण हुने र त्यसपछि स्थगित गरिएको एन्फाले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।
साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।
यस्तै नेपालले साफको तयारीका लागि जेठ ३२ गते मैत्रीपूर्ण खेल खेल्दैछ ।
साफमा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।
समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।
साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।
प्रारम्भिक टोली:
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन
