एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेग खेलमा कल्चरल लियोनेसालाई ४ - १ गोल अन्तरले हराएर बार्सिलोनाले अन्तिम १६ को यात्रा तय गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन डेनिस स्वारेजले दुई तथा म्युनिर एल हडादी र माल्कोमले एक एक गोल गरे । लियोनेसाका जोसेप सेनले एक गोल फर्काए ।

दोस्रो लेगको फराकिलो जितसंगै बार्सिलोनाले समग्रमा ५ - १ को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो । पहिलो लेगमा बार्सिलोनाले १ - ० को जित हात पारेको थियो ।
स्टार खेलाडीहरुलाई विश्राम दिइएको खेलको १८ औं मिनेटमा म्युनिरले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता २ - ० को बनाए । खेलको ४४ औं मिनेटमा माल्कोमले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३ - ० को अग्रता बनायो ।

दोस्रो हाफमा लियोनेसाले एक गोल फर्कायो । खेलको ५४ औं मिनेटमा जोसेपले गोल गरेपछि लियोनेसाको फराकिलो हार टार्न सकेनन् । त्यसपछि खेलको ७० औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४ - १ को जित दिलाए ।
लियोनेसाविरुद्ध बार्सिलोनाले कप्तान लियोनल मेस्सी, जेरार्ड पीके, लुइस स्वारेजलाई विश्राम दिएको थियो ।
कोपा डेल रे अन्तर्गत नै दोस्रो लेगमा जित निकाल्दै एट्लेटिको मड्रिड, सेभिया, जिरुना,भिया रियल लगायतका क्लबले अन्तिम १६ को यात्रा तय गरेका छन् ।