एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम हट्स्परले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई ३ - १ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डेली अली, ह्यारी केन र सन ह्युङ मिनले एक एक गोल गरे । चेल्सीका ओलिभर जेरुडले एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

चेल्सीविरुद्ध सनसनीपूर्ण जित निकाल्ने क्रममा अलीको गोलबाट आठौं मिनेटमा टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा केनले गोल गर्दा पहिलो हाफमा टोटेनहमले पहिलो हाफमा २ - ० को अग्रता बनायो ।
खेलको ५४ औं मिनेटमा सन मिनले गोल गर्दै टोटेनहमलाई ३ - ० को अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा चेल्सीका जेरुडले गोल गर्दै खेल ३ - १ को स्थितिमा ल्याए । त्यसपछि चेल्सीले थप गोल गर्न सकेनन् र खेल टोटेनहमलाई ३ - १ ले सुम्पिएको थियो ।

यो जितसंगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले १३ खेलबाट ३० अंक जोड्दै चेल्सीलाई पछि पारेर तेस्रो स्थानमा उक्लिएको हो । १३ खेलबाट २८ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।
लिगमा ३५ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष, ३३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।
