काठमाडौं । पहिलो संस्करणको रोनाल्ड म्याकुली नेत्रहीन टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बर्दियाले लगातार दोस्रो जित निकालेका छन् ।
विराटनगरस्थित सहिद रंगशालामा बिहिबार भएको पहिलो खेलमा आर्मीले झापालाई ७ विकेटले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको झापाले २० ओभरमा ८ विकेट गुमाएर ९५ रन बनाउन सक्यो । झापाका प्रतिक दर्जी र दुर्गा चौलागाईले समान १४/१४ रन जोड्दा दिपेश गुरागाई र आकाश राईले समान १२/१२ रन जोडे । आर्मीका भरत थापाले ह्याट्रिकसहित ४ विकेट लिए ।
झापाले दिएको ९६ रनको लक्ष्य पछ्याएको आर्मीले ८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । आर्मीका लागि सागर लामाले ४० रन जोड्दा भरत थापाले १६ रन जोडे । झापाका प्रतिक दर्जीले २ विकेट लिए ।
यसअघि आर्मीले पहिलो खेलमा म्याग्दीलाई हराएको थियो ।
नेत्रहीन क्रिकेट संघ नेपालले आयोजना गरेको प्रतियोगिताको दोस्रो खेलमा बर्दियाले म्याग्दीलाई ७ विकेटले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको म्याग्दीले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो । म्याग्दीका लागि राम गुरुङले ३४ तथा बिनित पुनले १६ रन जोडे । बर्दियाका लिल चौधरीले ४ विकेट लिए ।
म्याग्दीले दिएको ९३ रनको लक्ष्य बर्दियाले १२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बर्दियाका लागि लिल चौधरीले ३२ रन जोडे भने राधेश्याम चौधरीले १६ रन बनाए । म्याग्दीका सुनिल रानाले २ विकेट लिए ।
पहिलो खेलमा बर्दियाले झापालाई हराएको थियो ।