काठमाडौं । स्कटल्याण्डका कप्तान काइल जेम्स कोट्जरले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा कप्तान तथा ब्याट्सम्यान कोट्जरले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । पोखराले बुधबार कोट्जरलाई अनुबन्ध गरेको जनाएको छ । पोखराले सोमबार मात्रै मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरेको थियो ।
निकै अनुभवी खेलाडी कोट्जरले स्कटल्याण्डसंग ५० एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् । कोट्जरले एकदिवसीय क्रिकेटका १९ सय ६९ रन बनाएका छन् । कोट्जर पार्ट टाइम बलर समेत हुन् ।

ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार पोखराले कोट्जरलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।