एजेन्सी । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका इंग्ल्याण्डका पुर्व कप्तान वायन रुनीले विदाई खेल खेल्ने भएका छन् ।
घरेलु मैदानमा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै स्ट्राइकर रुनीले विदाई खेल खेल्ने भएका हुन् । रुनीको विदाई खेल रहने मैत्रीपूर्ण खेल इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बलीमा बिहिबार हुनेछ ।
रुनीले सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । रुनीले सन् २०१६ को नोभेम्बरपछि थ्री लायन्सका लागि खलेका छैनन् । रुनीले इंग्ल्याण्डबाट पछिल्लोपटक स्कटल्याण्डविरुद्ध खेल खेलेका थिए ।
तर, इंग्ल्याण्ड फुटबल एसोसिएसनले कीर्तिमानी गोलकर्ता रुनीको सम्मानमा विदाई खेल राखेको हो । रुनी गत सोमबारबाट इंग्लिश टोलीको अभ्यासमा सामेल भईसकेका छन् ।

पुर्व कप्तान रुनीले विदाई खेललाई यादगार बनाउने बताईसकेका छन् । रुनीले अमेरिकाविरुद्ध कप्तानी समेत गर्ने बताईएको छ ।
'मेरो पहिलो अभ्यास सोमबार थियो । राष्ट्रिय खेलाडीसंगको अभ्यास विशेष रह्यो,' रुनीले भनेका छन्, 'वेम्बलीमा फर्कन पाउनु मेरो लागि विशेष हुनेछ । मलाई गर्व हुनेछ र मोरो लागि यो बिशेष क्षण हुनेछ ।'
म्यानचेस्टर युनाइटेड र एभर्टनका पुर्व स्ट्राइकर समेत रहेका रुनीले इंग्ल्याण्डका लागि ११९ खेल खेल्दै कीर्तिमानी ५३ गोल गरेका छन्। उनी इंग्ल्याण्डका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । अमेरिकाविरुद्धको खेल रुनीको १२० औं क्याप हुनेछ ।

रुनी हाल अमेरिकाको मेजर सकर लिग क्लब डीसी युनाइटेडबाट खेलिरहेका छन् । छोटो समयमै रुनीले अमेरिकी लिगमा प्रभाव जमाइसकेका छन् । उनले २१ खेलमा १२ गोल गरिसकेका छन् ।
यस्तै यस मैत्रीपूर्ण खेलबाट वायन रुनी फाउण्डेसनका लागि फण्ड समेत जम्मा गरिनेछ ।