पोखरा । घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा पारस खड्काको चितवनले दिएको १६१ रनको लक्ष्य शरद भेषवाकरको पोखराले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
उपाधिसंगै पोखराले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार रकम २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको छ ।
पोखरालाई उपाधि दिलाउन रबि इन्दर सिंहले अर्धशतकीय इनिङस खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० जोडे । कप्तान शरद भेषवाकरले २२ रन जोडे ।

यस्तै मोहमद नाभिदले २५ रन जोड्दा आसिफ शेखले १२ रन बनाए । चितवनका भुवान कार्कीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६० रन बनाएको थियो ।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय इनिङस खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे । रन आउट हुनुअघि पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रनमा आउट भए ।
त्यस्तै सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए । पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिदा मोहमद नाभिद र ललित नारायण राजवंशीले १/१ विकेट लिए ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो
।
विजेता खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, संसद तथा कांग्रेसका युवा नेता गगन थापा, भरतपुर नगरपालिकाका मेयर रेणु दाहाल लगायतले पुरस्कृत गरे ।