पोखरा । पर्यटकीय नगरी पोखरा । नेपाली खेलकुदको उर्बर भूमि । शाहसिक खेलकुदका लागि कहलिएको भूमि । खेलकुद पर्यटनका लागि प्रचुर सम्भावना बोकेको सहर ।
यहीँ सहरमा नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जारी छ ।
माछापुच्छ्रे हिमालको काख र फेवा तालको किनारमा क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पहिलो संस्करणको यस प्रतियोगिता आयोजना गरेको हो ।
पहिलो संस्करणमा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो । र, प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजले मंगलबार खेल्दैछन् ।
विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।
पोखरा रंगशालामा बिहान ११ बजे हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ । त्यसका लागि दुवै टोलीले आफुहरु तयार रहेको बताईसकेका छन् ।

प्रतियोगिताको फाइनल अघि सोमबार सारङकोटमा उपाधि ट्रफी सार्वजनिक गर्दै चितवनका कप्तान पारस खड्का र पोखराका कप्तान शरद भेषवाकरले टोलीको लक्ष्य उपाधि जित्नु नै रहेको बताए ।
'एक खेलाडी र कप्तान भएको नाताले आशा गरौ खेल राम्रो हुनेछ । पहिला के भो भन्दा पनि हामीले भोलीको खेल राम्रो खेल्नु पर्नेछ,' चितवनका कप्तान पारसले प्रि म्याच कन्फरेन्समा भने, 'हाम्रो टिमले राम्रो गरेर फाइनलसम्म पुग्न सकेका छौं । अघिल्ला मोमेन्टलाई पछ्याए मात्र पनि हामी सफल हुनेछौ ।'
प्रतियोगिताको समूह चरणको दुई खेलमा खराब प्रदर्शन गरेपनि चितवनले लगातार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । चितवनले आइतबार फाइनल प्रवेशको लागि भएको इलिमिनेटर (प्ले अफ) खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो ।
कप्तान पारसले घरेलु टोलीले राम्रो तयारी गरेको कारण फाइनल खेल कठिन हुने समेत बताए ।
'टिम सबै राम्रा थिए । हरेक टोलीले फाइनल पुग्न र जित्नको लागि तयारी गरेको हुन्छ । हामीलाई अर्को अवसर छ । आशा गरौं फाइनल राम्रो हुनेछ,' कप्तान पारसले भने ।
यस्तै कप्तान पारसले प्रतियोगिताले गर्दा खेलाडीहरुले खेल्न पाएको र पहिलो संस्करणको प्रतियोगिताबाट निकै खुसी रहेको बताए ।
'अहिले हाम्रो ठाउमा राम्रो प्रतियोगिताहरु भएको छ । विदेशी खेलाडीहरु पनि ल्याउन थालेका छौ । जसले गर्दा खेलाडीहरुले धेरै अवसर पाएका छन्,' कप्तान पारस थपे, 'पीपीएलमा जुन किसिमको प्रतिक्रिया पाएका छौ ।खेलाडी भएको नाताले एकदम खुसी लागेको छ । यो नेपाली क्रिकेटको लागि एकदमै राम्रो खबर हो ।'
यता, घरेलु टोली पोखरा घरेलु भूमिको उपाधि घरमै राख्न चाहन्छ । समूह चरणमा ६ जितसहित नेट रन रेटमा अघि रहदै सिधै फाइनल पुगेको पोखराले उपाधि जित्न तयारी समेत गरेको छ । पोखरा घरेलु समर्थकको साथले थप बलियो हुनेछ ।
'घरेलु टिम भएकाले धेरै जना झण्डा ल्याएर खेल हेर्न आउछन् । जसले गर्दा हामीमा थप उर्जा पनि बढेको छ । खेल हो, हामीले नतिजाको बारेमा ध्यान दिनु भन्दा आफ्नो काम राम्रोसंग गर्याे भने नतिजा पनि राम्रो आउछ,' पोखराका कप्तान शरदले भने, 'टिमको तालमेल मिलेको छ । त्यसको कारण राम्रो नतिजा आएको छ । फाइनलमा पनि राम्रो हुनेछ ।'
कप्तान शरदले फाइनलमा पारसको टिम चितवनसंग खेल्दा दबाब नहुने बताए । यस्तै कप्तान शरदले ठुलो प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
'ठुुलो प्रतियोगिता गर्नु भएको छ । राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो प्रतिक्रिया आएको छ । प्रतियोगिता आयोजकलाई धन्यवाद दिन चाहान्छु,' कप्तान शरदले भने ।