पोखरा । हुलास काठमाडौं रोयल्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमले धेरै गल्तीहरु गरेको कारण नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटबाट बाहिरिएको बताएका छन् ।
पोखरा रंगशालामा फाइनल प्रवेशको लागि आइतबार भएको इलिमिनेटर (प्ले अफ) खेलमा काठमाडौं चितवन राइनोजसंग ६ विकेटले पराजित भएको थियो । चितवनसंग पराजित भएसंगै काठमाडौंको उपाधि यात्रामा पूर्णविराम लागेको थियो ।
'खेलको दोस्रो ओभरबाटै हाम्रो विकेटहरु जान थाल्यो । हामीले हिजो जुन गल्तीहरु गरेका थियौं । त्यो गल्ती आज भयो । जसको कारण हामी पहिलो इनिङस मै पछाडी परेका थियौं,' हारपछि कप्तान मल्लले भने, 'विकेट जानु थालेपछि सुरक्षित तरिकाले खेल्ने योजना थियो । तर, त्यसमा पनि विकेट गईरह्यो । आज हामीलाई आफ्नै कमजोरीले गार्हो भयो ।'
कप्तान मल्लले जित्ने लक्ष्यसहित मैदान उत्रिएको तर कमजोरीहरु दोहोरिदा पराजित हुनु परेको स्वीकारे ।
'जित्ने लक्ष्य नै थियो । ब्याटिङ राम्रो गर्ने थियो । हामीले राम्रो रन दिए उनीहरुलाई चुनौती हुने बिश्वास हामीलाई थियो,' कप्तान मल्लले भने ।
यस्तै कप्तान मल्लले प्रतियोगितामा सुरुवातमा राम्रो भएपनि त्यसपछि खेल बिग्रिएको बताए । कप्तान मल्लले ठुला खेलमा खेलाडीहरुले आफ्नो व्यक्तिगत प्रदर्शनमा महेनत गर्नुपर्ने आवश्यकता देखिएको समेत बताए ।