काठमाडौं । करिब तीन वर्षपछि बस्न लागेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकमा मुख्य दुई एजेण्डाले प्रवेश पाउने भएका छन् ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले बोर्ड बैठकका लागि मुख्य दुई एजेण्डा तयार गरेका छन् । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १९ औं एसियन गेम्सको सहभागीतालाई मुख्य एजेण्डाको रुपमा बोर्ड बैठकमा समावेश गर्ने भएका हुन् ।
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ । सोही अनुसार राखेपले आन्तरिक तयारीलाई तिव्र बनाएको छ । प्रतियोगिताको कार्यविधि प्रशासन विभाग प्रमुखको संयोजकत्वमा काम भैरहेको छ ।
नवौं राष्ट्रिय प्रतियोगिताको बजेटको काम राखेपको आर्थिक शाखाको नेतृत्वमा भैरहेको छ । यस्तै, चीनमा यसै वर्ष एसियन गेम्स समेत हुदैछ । तर नेपालले प्रतियोगिताका लागि तयारी अघि बढाएको छैन ।
यिनै मुख्य दुई एजेण्डाले शुक्रबारको राखेपको बोर्ड बैठकमा प्रवेश पाउने भएका छन् ।
राखेपको बोर्ड बैठक करिब तीन वर्षपछि पहिलो पटक शुक्रबार बस्दैछ । सिहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने बैठकका लागि बिहान ११ बजेको समय तय गरिएको छ । २०७६ साल बैशाखको पहिलो साता नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको समापनमा राखेपको बोर्ड बैठक अन्तिम पटक बसेको थियो ।
तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अनुपस्थितीमा सो बैठकको अध्यक्षता तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिनाले गरेका थिए । सोही बैठकले नवौं राष्ट्रिय खेलकुुद गण्डकी प्रदेशमा २०७७ सालमा आयोजना गर्ने निर्णय गरेको थियो ।
त्यसपछि खेलकुदको नेतृत्वमा आएका कुनैपनि खेलकुद मन्त्रीले राखेपको बोर्ड बैठक राख्न सकेनन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा ल्याएका तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले समेत नयाँ ऐन अनुसार बोर्ड बैठक राख्न सकेनन् । त्यसपछिका खेलकुद नेतृत्व समेत निकम्मानै सावित भए ।