जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

काठमाडौं। श्रीलंकाका दुशन हेमन्थाले १९औं ओभरको अन्तिम बलमा लेग साइड वाइड फ्याँकेपछि १७९ रनको लक्ष्य पछ्याइरहेको जिम्बाबेलाई सात बलमा १० रन चाहिएको थियो।
त्यो अतिरिक्त रन निस्किएलगत्तै खेत्तरामास्थित लोअर बी टियरको अगाडिको पंक्तिमा बसेका जिम्बाबेका समर्थकहरूको सानो समूह खुसीले उफ्रिन थाल्यो। ‘क्यासल कर्नर’ नामले चिनिने जिम्बाबे टोलीका ती समर्थकहरू हातमा हात मिलाएर जोशका साथ समर्थन गरिरहेका थिए।
एक मिनेटपछि टोनी मुन्योङ्गाले अन्तिम ओभरको पहिलो बलमै छक्का प्रहार गर्दा उनीहरू फेरि उफ्रिए। जित्न दुई रन र बराबरी गर्न एक रन आवश्यक हुँदा उनीहरूले लय मिलाएर ‘वन्स मोर, वन्स मोर, वन्स मोर’ भन्दै कराउन थाले।
१९औं ओभरमा दुनिथ वेल्लालागेले दुई विकेट लिएपछि जिम्बाबेको प्लेअर बक्समा तनाव बढेको थियो। तर, अन्तिम ओभरको त्यो छक्काले दबाब हटाइदियो। अन्ततः ब्रायन बेनेटले विजयी चौका प्रहार गरेपछि घरेलु दर्शकमा सन्नाटा देखियो। यता, जिम्बाबेका खेलाडीहरूको चिच्याहट र क्यासल कर्नर समूहले गाएको विजय गीत सुनिन थालियो।
माल्भिन क्वाराम्बा सन् २०१३ मा क्यासल कर्नरमा आबद्ध भएका थिए। यो आधिकारिक जिम्बाबे क्रिकेट समर्थक समूह स्थापना भएको दुई वर्षपछि हो। क्यासल कर्नर हरारे स्पोर्ट्स क्लबको एक स्ट्यान्डको नाम हो।
उनका अनुसार पहिले मैदानका विभिन्न भागमा बस्ने समर्थकहरू एकअर्कासँग परिचित भएपछि एउटै स्थानमा भेला हुन थाले। त्यसपछि जिम्बाबेको १२औं खेलाडीझैं चिनिन थाल्यो। अहिले यी समर्थकहरू रङ्गीचङ्गी पहिरनमा गीत गाउँदै र नाच्दै टोलीलाई हौस्याउँछन्। समूहमा २०० भन्दा बढी सदस्य दर्ता भए पनि उच्च खर्चका कारण यस पटकको ट्वान्टी–२० विश्वकपमा ६ जना मात्र श्रीलंका पुगेका छन्।
प्रत्येकले करिब २००० अमेरिकी डलर खर्च गरेका थिए, जुन जिम्बाबेको औसत प्रतिव्यक्ति आयसँग तुलना गर्दा निकै ठूलो रकम हो। अस्ट्रेलिया र श्रीलंकाजस्ता बलिया टोलीसँग एउटै समूहमा परेको जिम्बाबेलाई समर्थन गर्न उनीहरूले आफ्नो बचत सकाएका हुन्।
क्वाराम्बा लेखक र कानुन अध्ययनरत विद्यार्थी हुन्। भन्छन्,‘आर्थिक अवस्था कमजोर भए पनि टोलीका लागि साथ दिनैपर्छ भन्ने निर्णय गरेका हौं।’ समूहकी एकमात्र महिला लियोनाह तानिक्वा बुलावायोबाट हरारे सरेकी हुन्।
सुरुमा पार्टीजस्तो माहोलले आकर्षित गरे पनि अहिले क्यासल कर्नर उनको परिवारजस्तै बनेको छ। विश्वकप प्रत्यक्ष हेर्न उनले आफ्नो जागिरबाट बिदा लिइन् र भविष्यको चिन्ता नगरी यात्रा गरिन्। गोद्विन माम्हियो पेशाले लेखापाल हुन्। उनी पहिले टस्कर्स बी टोलीका सीम बलर थिए र ग्रेम क्रेमर तथा ब्रेन्डन टेलर उनका साथी हुन्। उनले २००३ को विश्वकप घरेलु मैदानमा हेरेका थिए। तर, यसपटक विदेशमा विश्वकप अनुभव गर्न चाहन्थे। उनका अनुसार आफूले खर्च गरेको यो पैसा सबैभन्दा सार्थक लगानी बनेको छ।
जिम्बाबेले पछिल्ला वर्षमा विश्वकप छनोट हुन असफल भएको थियो। सन् २०१८ मा घरेलु मैदानमा युएईसँग पराजित भएर २०१९ को विश्वकपमा छनोट हुन नसक्नु अत्यन्त पीडादायी क्षण थियो। त्यो दिन क्वाराम्बा अत्यन्त भावुक भएका थिए। तनावका कारण उनको स्वास्थ्यमा समेत असर परेको थियो। उनले एक समय समर्थक कार्यसमितिबाट राजीनामा दिएका थिए। तर, साथीहरुले गर्दा उनी पुन: फर्किए।
माम्हियोका अनुसार समर्थक र खेलाडीको सम्बन्ध माछा र पानीजस्तै छ, एकअर्काबिना अपूरो। टोलीले हार्दासमर्थक पनि पीडा महसुस गर्छन् र जित्दा सँगै उत्सव मनाउँछन्। श्रीलंकामा भएको यस विश्वकपको समूह चरणका खेल सकिएपछि यी ६ जना समर्थक स्वदेश फर्किसकेका छन्। किनकि बजेट धेरै बढिसकेको छ। त्यसैले भारतमा हुने सुपर एट चरणमा जान सम्भव छैन।
श्रीलंकामाथिको जितपछि घरेलु दर्शकहरू बाहिरिँदै गर्दा क्यासल कर्नर समूहले अन्तिमपटक गीत गाए, ‘हामीले हाम्रो काम गरिसक्यौं, अब घर फर्किने समय भयो।’














