सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर। घरेलु टोली सम्राट स्पोर्टिङ क्लब ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ।
सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो।
एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको सम्राटले अब फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च बोइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।
खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। ४४औं मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए। पहिलो हाफमा पछि परेको घरेलु टोली दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो।
खेलको ५०औं मिनेटमा सम्राटले बराबरी गोल फर्कायो। सौरव तामाङको उत्कृष्ट क्रस पासलाई मौसम लिम्बुले डिबक्स भित्रबाट गोलमा परिणत गरे। खेलको ८६औं मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गरिएको अतिरिक्त (इन्जुरी) समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–१ को जित सुनिश्चित गरे।
विर्सामुण्डाका लागि शिव शंकर किस्कुले एक सान्त्वना गोल गरे पनि पाहुना टोलीले अन्य थुप्रै अवसर गुमाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो।













