गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

काठमाडौं। शिब्रिन श्रेष्ठ र दीपक डुम्रेको ४६ रनको साझदारीसँगै गण्डकी प्रदेशले जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै राखेको छ।
मंगलबार सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकीले कर्णालीलाई ९ विकेटले पराजित गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अर्को संस्करणबाट प्रधानमन्त्री कपका शीर्ष ६ टोलीले जय ट्रफी खेल्नेछन्।
लिग चरणका खेल सकिँदा गण्डकी ९ अंकसहित छैटौं स्थानमा छ। ८ अंक रहेको बागमतीले एक र ७ अंक रहेको लुम्बिनीले दुई खेल खेल्न बाँकी छ।
कर्णाली प्रदेशले दिएको ७३ रनको झिनो लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा एक विकेट विकेट ७४ रन बनायो।
गण्डकीका शिब्रिनले अविजित ४० रनको योगदान गरे। उनले ३४ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे।
त्यस्तै, दीपक डुम्रेले पनि अविजित २२ रन जोडे। उनले तीन चौका र एक छक्का प्रहार गरे।
कर्णालीका विपिन शर्माले एक विकेट लिए।
त्यसअघि वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २५.२ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो।
कर्णालीका प्रकाश जैसी १५, कप्तान दिवान पुन १४ तथा अर्जुन घर्तीले १३ रन बनाए। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
गण्डकीका विपिन खत्रीले सर्वाधिक पाँच विकेट लिए। खत्रीले १० ओभर बलिङ गर्दै १८ रन खर्चिँदै ४ मिडन राखे। अपराजित पौडेलले तीन विकेट लिए।











