चल्नै सकेका छैनन् स्यामसन

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सञ्जु स्यामसनको खराब लय जारी छ। चेन्नई सुपर किंग्सको जर्सीमा उनी लगातार तेस्रो खेलमा एकल अंकमै आउट भएका छन्।
रोयल च्यालेन्जर्स बेङ्गलुरुविरुद्ध २५१ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा स्यामसनले मात्र ९ रन बनाए। हालै टी–२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेका उनी आईपीएलमा भने लय समात्न सकेका छैनन्।
चेन्नईका प्रशिक्षक स्टेफन फ्लेमिङले स्यामसनको बचाउ गर्दै भने,‘लामो समय एउटै फ्रेन्चाइजमा खेलेपछि नयाँ टिममा घुलमिल हुन समय लाग्छ। उनी अहिले टिमसँग तालमेल मिलाउने प्रक्रियामा छन्। टिममा पनि धेरै परिवर्तन भएका छन्, त्यसैले सेट हुन समय चाहिन्छ।’

भारतलाई तेस्रोपल्ट विश्वकप जिताउन उनले ५ खेलमा तीन अर्धशतकसहित ३२१ रन बनाएका थिए। उनी विश्वकपका सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा रहे।
नामिबियाविरुद्ध २२ र जिम्बाबेविरुद्ध २४ रन बनाए। सुपर ८ मा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाएका उनले सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध ८९ रनको योगदान दिए। फाइनलमा न्यूजिल्यान्डविरुद्ध पनि उनले ८९ रन नै बनाएका थिए।
फ्लेमिङले थपे, ‘हामी मैदान बाहिर पनि टोलीबीच समन्वय बढाउन काम गरिरहेका छौं। उनी पूर्ण रूपमा फिट छन्। रन बनाउन उत्सुक छन्, ऋतुराज र अन्य सिनियर खेलाडीहरू जस्तै। टी–२० क्रिकेटमा एकपटक लय समात्यो भने खेलाडी निकै खतरनाक हुन सक्छ, स्यामसन पनि त्यस्तै खेलाडी हुन्। उनलाई हाम्रो पूर्ण समर्थन छ।’

खेलको कुरा गर्दा बेङ्गलुरुले २५० रनको विशाल स्कोर बनाएको थियो। यो स्कोर सिजनकै सबैभन्दा ठूलो हो। पहिलो १५ ओभरसम्म चेन्नईले खेलमा पकड राखे पनि अन्तिम पाँच ओभरमा ९७ रन खर्चियो। टिम डेविड र कप्तान रजत पाटिदारले आक्रामक ब्याटिङ गर्दै चेन्नईका बलरहरूलाई दबाबमा राखे।
१८औं ओभरमा अंशुल कम्बोजले टिम डेविडलाई बोल्ड गरेका थिए। तर, त्यो नो–बल भयो। त्यसपछि डेविडले खेलको दिशा नै परिवर्तन गरिदिए। फ्लेमिङले भने, ‘दबाबमा सही कार्यान्वयन आवश्यक हुन्छ। टिम डेविडजस्ता ब्याटरविरुद्ध सानो गल्ती पनि महँगो पर्छ। नो–बलले ठूलो असर पार्यो।’
चेन्नईका कप्तान गायकवाडले हारको जिम्मेवारी आफैंले लिए। गायकवाड आफैं पनि मात्र ७ रन बनाएर आउट भएका थिए। ‘यदि मैले टप अर्डरमा राम्रो योगदान दिएको भए लक्ष्य भेट्टाउन सक्थ्यौं। आजको हारको जिम्मा मेरो हो,’ उनले भने।

यद्यपि, टिमको सुरुआत निकै खराब रह्यो र ३०/३ को अवस्थामा पुगेको थियो। त्यसपछि सरफराज खान (५०), प्रशान्त वीर (४३) र जेमी ओभरटन (३७) ले टिमलाई केही हदसम्म सम्हाल्ने प्रयास गरे। तर, पनि चेन्नई ४३ रनले पराजित भयो। चेन्नईको यो लगातार तेस्रो हार हो। उसले यस सिजनमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन।
चेन्नई अहिदे अंक तालिकाको पुछारमा छ। टिमले छिट्टै पुनरागमन गर्नुपर्ने दबाबमा छ। अबको खेल दिल्ली क्यापिटल्सविरुद्ध हुनेछ। यो खेलमा टोली पहिलो जितको खोजीमा मैदानमा उत्रिनेछ।





-1774972470258.webp&w=3840&q=75)

-1773912955664.png&w=3840&q=75)



-1775446739231.webp&w=3840&q=75)

-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)