९ महिनामै कमजोर देखिएको इन्टर
-1771987903946.webp&w=3840&q=75)
एक वर्षले कति फरक पार्दो रहेछ। अझ ठीक भन्नुपर्दा नौ महिनाले।
गत सिजन इन्टर मिलानले च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो। बायर्न म्युनिख र बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै इटालियन टोलीले सबैको ध्यान खिचेको थियो।
तर, मंगलबार भने इन्टर घरेलु मैदानमै बोडो/ग्लिम्टसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। समग्रमा ५–२ को हारसहित प्लेअफ चरणमै बाहिरिनु च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एकका रूपमा हेरिएको छ।
यस सिजन सानो नर्वेजियन टोली बोडो/ग्लिम्टले यसअघि म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिडलाई हराउनुका साथै बोरुसिया डर्टमुन्डसँग बराबरी खेलेर ठूलो उलटफेर गरिसकेको थियो।
इन्टरका प्रशिक्षक क्रिस्टियन किभुले भने,‘हामीलाई थाहा छ च्याम्पियन्स लिग अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगिता हो। यो चरणसम्म पुग्ने टोलीसँग केही विशेष गुण हुन्छ। उनीहरूले डर्टमुन्ड, मड्रिड, सिटी र हामीविरुद्ध पनि त्यो प्रमाणित गरेका छन्।’
उनी थप्छन्,‘उनीहरू ऊर्जावान टोली हुन्। हामीले नर्वेमा अझ राम्रो गर्न सक्थ्यौं, आज पनि अझ राम्रो गर्न सक्थ्यौं। तर दुर्भाग्यवश हामीले चाहेजस्तो भएन। हामीले अगाडि बढ्न सक्दो प्रयास गर्यौं, यही नै फुटबल हो।’
गत सिजनमै इन्टरभित्र सबै कुरा ठीक नभएको संकेत देखिएको थियो। टोली फाइनलसम्म पुगे पनि पेरिस सेन्ट जर्मेनसँग ५–० ले पराजित भएको थियो। त्यस्तै, इटालियन कपको सेमिफाइनलमा एसी मिलानसँग हार बेहोरेको थियो भने सिरी ‘ए’ मा उपविजेता बनेको थियो।
प्रशिक्षक सिमोने इनजाघीको स्थानमा किभु नियुक्त भएका थिए। किभुको यसअघि वरिष्ठ टोली सम्हाल्ने अनुभव केही महिनासम्म पार्माको जिम्मेवारी लिएको मात्र थियो।
उमेर ढल्कँदै गएको टोलीमा ठूलो परिवर्तन हुने अपेक्षा गरिए पनि त्यस्तो भएन। ट्रान्सफर बजारमा इन्टरले ठूलो लगानी गरेन र एन्ज–योआन बोनी, लुइस हेन्रिक, पेटार सुचिच र मानुएल अकान्जीलाई मात्र भित्र्यायो।
यस सिजन सिरी ‘ए’ मा इन्टर शीर्ष स्थानमा १० अंकले अगाडि छ र घरेलु उपाधितर्फ उन्मुख देखिन्छ। तर, च्याम्पियन्स लिगमा भने टोलीले संघर्ष गर्नुपरेको छ।
प्रतियोगिताको सुरुवाती चार खेल जिते पनि त्यसपछि लगातार तीन खेल हार्दा लिग चरणमा १०औं स्थानमा सीमित रह्यो र अन्तिम १६ मा सिधै प्रवेश गर्न एक अंकले पछि पर्यो।
प्लेअफ पराजयपछि मिडफिल्डर निकोलो बरेल्लाले भने,‘बोडोले दुवै खेल जित्यो, त्यसैले उनीहरू अघि बढ्न योग्य थिए। आज उनीहरूले हामीलाई धेरै कठिनाइमा पारेनन्, तर सबैभन्दा कठिन कुरा गोल गर्नु थियो र हामी त्यसमा असफल भयौं।’
पहिलो लेगमा ३–१ ले पराजित भएकाले इन्टरलाई मंगलबार कम्तीमा दुई गोल आवश्यक थियो। टोलीले सुरुदेखि नै आक्रामक खेल देखायो। धेरै अवसर सिर्जना गरे पनि बोडो/ग्लिम्टका गोलकिपर निकिता हाइकिनको उत्कृष्ट बचाउ र सुदृढ रक्षापंक्तिका कारण गोल गर्न सकेन।
तथ्यांक हेर्दा इन्टर खेलमा हावी देखिन्छ। उसले ३२ प्रहार गर्दा विपक्षीले मात्र सात प्रहार गर्यो। पास पनि इन्टरले ५५२ पूरा गर्दा बोडो/ग्लिम्टले १९२ मात्र पूरा गर्यो।
प्रशिक्षक किभुले अन्त्यमा भने,‘हामीले प्रतिद्वन्द्वीलाई श्रेय दिनुपर्छ र बधाई दिनुपर्छ, किनकि उनीहरूले गर्नुपर्ने काम उत्कृष्ट रूपमा गरे। च्याम्पियन्स लिगको स्तर उच्च हुन्छ। यदि तपाईं अवसरलाई सदुपयोग गर्न र गोलअगाडि सचेत हुन सक्नुभएन भने विपक्षीले सजाय दिन्छ।’














