पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले चितवन राइनोज र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा सन्दीप लामिछानेको विराटनगरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । र, कप्तान पारस खड्काको चितवनले सुरुवातमा फिल्डिङ गरिरहेको छ ।
यस खेल चितवनका लागि महत्वपूर्ण रहेको छ । चितवनले ४ खेलबाट ४ अंक जोडेको छ । र, चितवनलाई दोस्रो चरणमा पुग्न जित्नै पर्ने दबाब रहेको छ । चितवनले आज विराटनगरलाई पराजित गरेमा उसको ६ अंक हुनेछ ।
विराटनगरको भने प्ले अफ सम्भावना सकिएको छ । ४ खेलबाट २ अंक जोडेको विराटनगर बाहिरिसकेको छ । आज भएको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई हराएसंगै विराटनगर बाहिरिएको हो । विराटनगरसंगै बुटवल ब्लास्टर्सको पनि बाहिरिएको छ ।