पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टिम हुलास काठमाडौं रोयल्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम खेल जित्दै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।
पोखरा रंगशालामा शुक्रबार बुटवल ब्लास्टर्सलाई पराजित गर्दै तेस्रो खेलमा जित निकालेपछि कप्तान ज्ञानेन्द्रले शीर्ष स्थान पुग्ने लक्ष्यसहित अन्तिम खेल खेल्ने बताएका हुन् ।
'राम्रो जित भयो । हामी प्ले अफ नजिक छौ । भोलि जित्न सके प्ले अफ पुग्न सकिन्छ,' बुटवललाई ३७ रनले हराएपछि कप्तान ज्ञानेन्द्रले भने, 'भोलिको अवस्था फरक हुनेछ । त्यहिँ अनुसार योजना बनाउने छौं । भोलि खेल जित्यो शीर्ष स्थानमा आउछौं भन्ने तरिकाले खेल्नेछौं ।'
बुटवलमाथिको जितसंगै काठमाडौंले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ । अब अन्तिम खेलमा काठमाडौंले शनिबार पोखरा पल्टनसंग खेल्नेछ ।
यस्तै कप्तान ज्ञानेन्द्रले ब्याटिङ र बलिङ राम्रो हुँदा जित निकालेको बताए । उनले नरेस बुढाएरले उत्कृष्ट खेलेको समेत बताए ।
'आज समग्रमा ब्याटिङ र बलिङ राम्रो रहेको तर, फिल्डिङ निराशाजनक रह्यो । नरेशले राम्रो खेल्यो । उनीसँग क्षमता छ । नरेसको ब्याटिङ ठिक समयमा चलिरहेको छ । यो हाम्रो लागि फाइदा हो,' कप्तान ज्ञानेन्द्रले भने । काठमाडौंको जितमा नरेशले ५८ अर्धशतकीय इनिङस खेलेका थिए ।
बुटवलका कप्तान सोमपाल कामीले भने धेरै गल्तीहरु दोहोर्याएको र केहि खेलाडी घाइते हुँदा पराजित भएको बताए । ललित भण्डारी घाइते हुनु र खेलाडीमा अनुभवको कमी हुनु पनि टोलीको हार भएको कप्तान सोमपालको भनाई थियो ।
'खेलाडीले निरन्तर राम्रो खेल्न सकेन । हाम्रो पहिलो रोजाइको पेस बल ललित तेस्रो खेलबाटै घाइते हुन पुगे। त्यसपछि बलहरुमा अनुभव कम भएको छ,' कप्तान सोमपालले भने 'धेरै गल्ती गरेका छौं । जसले रनहरु बनिरहेको छ । हामीले कहिँ न कहिँ चाहिएको दिन नसकेको हो । त्यसले गर्दा राम्रो नतिजा ल्याउन सकेनौ ।'