पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा हुलास काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौंले सोमपाल कामीको बुटवललाई ३७ रनले हराएको हो ।
पोखरा रंगशालामा काठमाडौंले दिएको १७३ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
बुटवलका लागि रोहन मुस्तफाले ६१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सिद्दान्त लोहनीले १३, भिम सार्कीले १२ तथा चिराग सुरीले ११ रन जोडे । काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए । यस्तै नन्दन यादव र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ अर्धशतकीय इनिङस खेले । उनले २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान ज्ञानेन्द्र २५ रनमा अविजित रहे । नरेश र ज्ञानेन्द्रले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।
त्यस्तै जयकिशन कोल्शावालाले ४५, पवन सर्राफले २२ तथा गौरव तोमारले ११ रन जोडे । बुटवलका लागि विपिन खत्रीले २ विकेट लिए । सांसद शेख र रोहन मुस्तफाले १/१ विकेट झारे ।
जितसंगै काठमाडौंले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । अब अन्तिम खेलमा काठमाडौंले शनिबार पोखरा पल्टनसंग खेल्नेछ ।
यता, बुटवलले तेस्रो हार व्यहोरेको छ । बुटवलले ५ खेलबाट ४ अंक जोडेको छ । बुटवलको पनि प्ले अफ सम्भवना कायम छ । तर, बुटवलको प्ले अफ यात्रा अन्तिम दिनको खेलले तय गर्नेछ ।
प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर खेल्नेछ ।