पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा रंगशालामा सोमपाल कामीको बुटवल र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको खेल अपरान्ह १:१५ बजे सुरु हुनेछ । यस खेल दुवैको टोलीका लागि महत्वपूर्ण रहेको छ ।
प्रतियोगितामा यस खेल बुटवलको अन्तिम खेल हुनेछ । काठमाडौंको भने चौथो खेल हुनेछ ।
बुटवल ४ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । तर, बुटवललाई प्ले अफमा पुग्न काठमाडौंविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।
काठमाडौंसंग पराजित भए बुटवलको प्ले अफ यात्रा अन्य टोलीको खेलमा निर्भर हुनेछ ।
यता, काठमाडौं बुटवललाई हराएर प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ । ३ खेलबाट ४ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ ।
बुटवललाई हराउन सके काठमाडौंको प्ले अफ यात्रा निकै सहज हुनेछ ।