पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत अहिले घरेलु टोली पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेको छ । र, पहिले ब्याटिङ रोजेको छ । केहि बेरमा धनगढीले बलिङ्ग गर्नेछ ।
पोखराविरुद्ध मैदान उत्रदा धनगढी गर या मरको स्थितिमा हुनेछ । धनगढीको यो लिग चरणको अन्तिम खेल हो । त्यसैले प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब छ ।
४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ । पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्न चाहन्छ । पराजित भएमा प्ले अफ सम्भावना निकै कम हुनेछ ।
यता, घरेलु समर्थकको साथ पाएको पोखरा तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ ।
आज धनगढीलाई हराउन सके पोखराको प्ले अफ सम्भावना बलियो हुनेछ । पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । त्यसैले पोखरा आफुलाई पुर्ण रुपमा जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।